
बिदुर एम सी,
नेपाली पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपालको स्थापनाको २६औं दिवस देशभर विभिन्न कार्यक्रमहरु गरेर सोमबार सम्पन्न गरिएको छ । शनिबारदेखि शुरु भएर सोमबारसम्म तीन दिन मनाएर सोमबार समापन गरियो ।
यसैगरी दाङ देउखुरीमा पनि चौतारीको २६औं स्थापना दिवस सानदार रूपमा सम्पन्न गरियो । शनिबार तुलसीपुरमा जिल्लाभेला गरियो भने आइतबार देउखुरीको लमहीमा रक्तदान कार्यक्रम भयो । त्यसैगरी सोमबार जिल्ला सदरमुकाम घोराहीमा रहेको नेपाल पत्रकार महासंघको सभाहलमा शुभकामना आदानप्रदान र सातजना पत्रकारहरुलाई पुरस्कार वितरण गरेर चौतारीको २६औं स्थापना दिवसको विधिवत रूपमा समापन गरियो ।
लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि कहिँ कतैबाट खतरा हुने संकेत देखिएमा सम्पूर्ण लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एकजूट भएर उभिनुपर्नेमा समापन कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए । अहिलेको विद्यमान आर्थिक मन्दीले अन्य आर्थिक क्षेत्रलाई झैँ पत्रकारिता क्षेत्रलाई पनि नराम्ररी थला पारेका बेला सबै मिलेर यसको समाधान खोज्नुको विकल्प नरहेको पनि उनीहरूले औंल्याए । देशमा कुनै सम्भावना छैन भन्दै विदेश पलायन हुनेहरुलाई आफ्नो देशमा जस्तो सम्भावना अन्यत्र मुलुकमा नभएको भनेर सुझाएका छन् ।
प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा मगरको अध्यक्षतामा भएको समापन समारोह कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी थिए । कार्यक्रमका विशिष्ट अतिथि चौतारीका केन्द्रीय उपाध्यक्ष सबिन प्रियासन थिएभने चौतारीका दाङ जिल्ला सचिव किरण गौतमले कार्यक्रमको सहजीकरण गरेका थिए ।