(ABC-Sanchar)
काठमाडौँ । न्युरोडमा सडकपेटी बढाउने विषयमा काठमाडौं महानगर र सडक डिभिजन कार्यालयबीच केही दिनदेखि चलिरहेको विवाद सोमबार सडकमै प्रकट भएको छ । सडकपेटी साँघुरो भएको भन्दै महानगरले गत जेठ १२ मा यसलाई फराकिलो बनाउन सडक भत्काएको थियो । तर डिभिजन कार्यालयले भने जस्ताको तस्तै बनाइदिएको छ ।
सोमबार बिहानैदेखि सडक डिभिजन कार्यालय काठमाडौंका कर्मचारी न्युरोडको जुद्ध सालिकदेखि इन्द्र चोकसम्मको सडक कालोपत्र गर्न खटिए । दिउँसोतिर सडकपेटी विस्तारको पक्षविपक्षमा रहेका स्थानीयबीच निकैबेर विवाद भयो । त्यो बीचमा सडकमा काम चलिरहेको थियो । काठमाडौं महानगरका प्रहरी आएर काम रोक्न खोज्दा भने सडकका कर्मचारीसँग भनाभन भयो । केहीबेरको वादविवादपछि महानगरको टोली फर्कियो, सडकका कर्मचारीले भने कालोपत्रको काम तीव्र रुपमा गरिरहे ।
दुवै निकायले आआफ्नो क्षेत्रभित्र उक्त सडक पर्ने दाबी गर्दै आएका छन् । न्युरोडको सडक बनाउनेदेखि मर्मतको काम आफूहरूले गर्दै आएको महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य बताउँछन् । ‘यो सडक महानगरपालिकाभित्र पर्छ, नभए प्रमुख सहरको बाटोहरू कसको हुन्छ त ?,’ उनले भने, ‘मर्मत सम्भारदेखि सडक बनाउनेसम्मको काम सबै महानगरले गरिरहेको छ, विगतमा महानगरले मर्मत सम्भार र सडक बनाएको भर्पाइ सडक डिभिजनले गर्न सक्छ ?’
न्युरोडको सडकपेटी साँघुरो भएकाले सर्वसाधारणलाई आवतजावतमा सहज बनाउन विस्तार गर्न खोजिएको उनको भनाइ छ । ‘सडकपेटीको ठेक्का गर्नुभन्दा पहिला सडक डिभिजनलाई जानकारी गराएका थियौं, असोज ४ मा पत्र पठाएका थियौं,’ उनले भने, ‘त्यो ठाउँ हाम्रो कार्यक्षेत्रभित्र छ, त्यसैले सडकपेटी विस्तार नगर्नु भनेर सडकले पत्र पठाउनुपर्थ्यो कि पर्दैन थियो ?’ महानगरले काम थालेपछि सडक डिभिजनले रोक्ने काम गरेको उनको भनाइ छ ।
पेटी विस्तारको ठेक्का गत जेठ ३ मा एक वर्षभित्र सक्ने गरी आरोग्य जेभीले लिएको थियो । सडक ८ मिटर कायम गरेर करिब दुई किलोमिटरमा सडकपेटी विस्तार गर्ने गरी ठेक्का भएको उनको भनाई छ । ‘यसबारे अरू कुरा थाहा छैन,’ उनले भने, ‘अब के गर्ने भन्नेबारे मेयर साबले निर्णय गर्नु हुने छ ।’ यसअघि महानगरले न्युरोडमा जथाभावी हुने सवारी पार्किङ पनि हटाएको थियो । तर आफ्नो अनुमतिबिना सडक काटेर साँघुरो बनाउन नहुने भन्दै सडक डिभिजन कार्यालयले महानगरलाई काम रोक्न भनेको थियो । यसैबीच महानगरले गत जेठ १२ साँझ सडक डिभिजन र सडक विभागअघि धूलो लगेर फालिदियो । उता चक्रपथ विस्तारमा ढिलाइ गरिएको भन्दै धूलो फालेको महानगरका प्रमुख बालेन्द्र शाहको भनाइ थियो ।