दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्।
यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु वास्तविक सुकुम्बासीलाई पहिचान गरी लालपुर्जा प्रदान गर्नु नै दिगो र मानवीय उपाय हो।
सुकुम्बासी बन्नु धेरैका लागि बाध्यता हो, रहर होइन। गरिबी, बेरोजगारी, प्राकृतिक विपत्ति, सामाजिक विभेद तथा राज्यको योजनाविहीन विकासका कारण धेरै नागरिकहरू सुरक्षित आवासविहीन बन्न पुगेका छन्। गाउँमा जमिन नभएर, रोजगारीको खोजीमा शहर पसेका नागरिकहरूले अन्ततः सार्वजनिक वा खाली जग्गामा झुपडी बनाएर जीवन गुजारिरहेका छन्। राज्यले समयमै उचित आवास नीति लागू गर्न नसक्नु पनि यसको प्रमुख कारण हो। त्यसैले सुकुम्बासीलाई अपराधीझैँ व्यवहार गर्नु न्यायोचित हुँदैन।