(बिदुर एम सी)
दाङ । लमही नगरपालिका-६, कुलमाेहरमा बेथेल मण्डलीकाे पक्की भवन बिहीबार दिउँसो उद्घाटन गरिएकाे छ । मण्डलीका संस्थापक स्वर्गीय पास्टर जमानसिंह घर्तीकी जिवनसंगीनी वयोवृद्ध दिलमाया घर्तीले एक समारोहका बीच ब्यानर खोलेर उक्त मण्डलीकाे उद्घाटन गरेकी हुन् ।
चर्चका विश्वासी तथा अन्य संघसंस्थाहरूकाे सहयाेगमा १७ लाख ७० हजार ८ सय ९४ नगद रकम र अन्य भौतिक सहयोग लागतमा उक्त मण्डली निर्माण गरिएकाे मण्डलीका अगुवा कुमार जिएमले जानकारी दिए । दुई कठ्ठा क्षेत्रफलमा उक्त मण्डली निर्माण भएकाे छ ।
भवन उद्घाटन कार्यक्रममा प्रतापी मण्डली घाेराहीका बरिष्ठ पास्टर नरबहादुर शाह, अनन्त झरी मण्डली फुर्सेखाली घाेराहीका बरिष्ठ पास्टर जीवन गुरूङ्ग, प्रेम ख्रिष्टिय चर्च, बनघुस्री लमहीका बरिष्ठ पास्टर जितबहादुर विक, प्रशंसा चर्च लमहीका पास्टर लिलबहादुर घर्ती, प्रतापी चर्चकाे शाखा चर्च लेटार जनकपुरका हुकुम पुन, ख्रिष्टीय मण्डली बेलाकी पास्टर हन्ना राेका, सियाेन एक्लेसिया लमहीका पास्टर यहाेशू बुढा र भालुवाङ बप्टिस चर्चका पास्टर बिदुर एमसी लगायतका बक्ताले शुभकामना मन्तव्य ब्यक्त गर्नुका साथै आशिष वचन बोलेका थिए।
उक्त मण्डलीकाे नवनिर्मित भवनलाई किश्चियन विधि अनुसार परमप्रभु परमेश्वरमा समर्पणकाे प्रार्थना सहित उद्घाटन गरिएकाे थियाे । दाङ जिल्लाका बरिष्ठ पास्टर नरबहादुर शाहले पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरकाे वचन पाठ र समर्पणकाे प्रार्थना गर्नु भएकाे थियाे भने आर्का बरिष्ठ पास्टर जीवन गुरूङ्गले वचन गरेका थिए । साे अवसरमा मण्डलीका अगुवा कुमार जिएमले मण्डलीकाे ईतिहास र भवन निर्माणकाे आयव्यय सार्वजनिक गरेका थिए । भवन उद्घाटन कार्यक्रमकाे सञ्चालन मण्डलीका एल्डर अधिराज राेकाले गरेका थिए ।
वि.सं. २०३६ सालमा स्थापना भएकाे उक्त मण्डली साविक राप्ती अञ्चलकाे तेस्राे, दाङ जिल्लाकाे दाेस्राे र देउखुरीकाे पहिलाे मण्डलीकाे रूपमा स्थापना भई निरन्तर प्रार्थना सहित अन्य धार्मिक गतिबिधि गर्दै आईरहेकाे छ ।