(ABC-Sanchar)
पर्सा । वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेंगुका बिरामी फेला परेका छन्। स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहका अनुसार, वीरगञ्ज महानगरपालिका–९, रानीघाटमाप बसोबास गर्दै आएकी एक महिलामा काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा परीक्षणका क्रममा कालाजारको लक्षण देखिएको हो।
डा. साहले भने, “कालाजार देखिएको बिरामीको टेकुमा उपचार भइसकेको छ। वीरगञ्जमा बसोबास गरेकाले पनि सो क्षेत्रमा कालाजारको बिरामी हुनसक्ने भन्दै स्वास्थ्य स्वयंसेविकालाई सचेत गराउन अनुरोध गरेका छौँ।” उनले लामो समयसम्म ज्वरो आइरहेका शङ्कास्पद बिरामीलाई परीक्षण गर्न पनि अनुरोध गरेका छन्।
त्यस्तै, पछिल्लो तीन महिनामा पर्सामा नौजना डेंगुका बिरामी भेटिएका छन्। तीमध्ये सात जना वीरगञ्ज महानगरभित्रका र अन्य दुईजना ठोरी गाउँपालिका र विन्ध्वासिनी गाउँपालिकाका रहेका छन्। डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो, जसको विषाणु सङ्क्रमित पोथी लामखुट्टेले मानिसमा सार्दछ। डा. साहका अनुसार, यो रोग ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी फैलिएको छ।