२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

युवापुस्ताले जनै बनाउन चासो नदिँदा गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै

Logo
Abc Sanchar प्रकाशित सोमबार, भाद्र ०३, २०८१

 

नवलपरासी । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउने क्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताए । “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ”, उनले भने, “सहजता र आधुनिकताले पनि धेरै परम्परा र मौलिक सीप लोप हुँदै गएका छन् ।”

केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भए तापनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको कावासोती–१७ का धनपति अधिकारीले बताए । “पछिल्लो समय युवाले नियमित जनै लगाउनै छाडे”, उनले भने, “अहिलेका छोरानातिले जनै लगाएर के हुन्छ भनेर उल्टै आफ्नो रीतिरिवाज भुल्न थालेका छन् । यो चिन्ताको विषय हो ।”

गाउँमा अहिले जनै बाट्नै छाडिसकेको अधिकारीले बताए । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उनले बताए। बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा उपलब्ध हुने गरेका छन् । नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि धेरै हुने गरेको पाइन्छ ।

विगत वर्षहरूमा  गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिहरूले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो नै उत्कृष्ट जनै रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताए। “आफ्नै हातले धागो सङ्ग्ल्याएर, कतुवामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो”, उनले भने, “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावट राम्रो र उपयुक्त हुँदैन ।”

पछिल्लो समय हिन्दू धर्मावलम्बीको पवित्र पर्वका रूपमा मनाइने जनपूर्णिमाको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित भण्डारीले गुनासो गरे। “रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उनले भने, “आधुनिकताका नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।

शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनैपूर्णिमालाई लिइने पण्डित भण्डारीले बताए । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँठाउँमा पुरोहितले विधि पुर्‍याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने हो उनले भने ।

जनैपूर्णिमा (रक्षाबन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ । “तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ”, उनले भने, “हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]