राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न
*काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ।
संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त सामग्री कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो।
तालिममा सहभागीहरुलाई स्क्रिन रिडर प्रयोगकर्ताका लागि Alt Text राख्ने, भिडियोमा क्याप्सन र साङ्केतिक भाषा थप्ने, वेबसाइटलाई WCAG 2.1 मापदण्ड अनुसार पहुँचयुक्त बनाउने तरिका र सरकारी वेबसाइटमा रहेको एक्सेसिबिलिटी टुलको प्रयोग बारे पनि सिकाइएको थियो।
संघले पछिल्लो समय सरकारी वेबसाइटहरुलाई नै अपाङ्गतामैत्री बनाउने अभियान चलिरहेको बेला अपाङ्गता भएका व्यक्तिहरु आफैंले पनि डिजिटल कन्टेन्ट बनाउन सक्ने बनाउन यो कार्यक्रम आयोजना गरिएको जनाएको छ। यसअघि पनि Access Planet लगायतका संस्थाहरुले अपाङ्गता भएका महिलाहरुका लागि ३ दिने डिजिटल कन्टेन्ट निर्माण तालिम सम्पन्न गरेका थिए।
कार्यक्रममा सहभागीहरुले डिजिटल पहुँच भनेको सुविधा मात्र नभई संविधानको धारा २७ ले दिएको सूचनाको हक र अपाङ्गता अधिकार ऐनले सुनिश्चित गरेको अधिकार भएको बताएका थिए।