बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन?
बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ।
भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा २१ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ। एउटै रातमा ४८ लाख ५ हजार बराबरको १९२० थान चाइनिज भेप मधुवन-५ फुलाराम चोकबाट साइकलमा भारत लैजाँदै गर्दा पक्राउ परेको थियो। राजापुरमा भालु फाँटा, खाता जंगल र कोठियाघाटबाट लाखौंको कपडा, चिनी र पटाका बरामद हुँदा तस्करहरू भागाभाग भएका थिए।
यस्तै मधुवन-८ सानोश्री बजारबाट मात्रै २५ लाख ५९ हजारको १०८ बोरा काँचो केरा र १८ लाखको किराना सामान भारतीय नागरिक सहित पक्राउ परेको छ।
*प्रश्न उठ्छ -*
१. मुख्य नाकामा भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरी हुँदाहुँदै यति ठूलो परिमाणको सामान कसरी पार हुन्छ?
२. खुला सीमाको कारण मानव तस्करीसम्मको जोखिम रहेको भन्दै मानव अधिकार आयोगले नै चिन्ता व्यक्त गरिसक्दा स्थानीय तह र प्रशासन किन मौन?
३. बरामद भएका सामानको मालिकसम्म अनुसन्धान पुग्छ कि फाइलमै सामसुम हुन्छ?
तस्करी भनेको केवल गैरकानुनी व्यापार होइन, यो राज्यको राजस्वमाथिको संगठित हमला हो। अब भाषण होइन, नाकामा धर्मकाँटा जाँच, संयुक्त गस्ती र संलग्नमाथि कारबाही आवश्यक छ। नत्र आज भेप र केरा समातिन्छ, भोलि त्यही बाटोबाट लागूऔषध र वन्यजन्तु तस्करी भइरहन्छ।