२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

काठमाडौं ठमेलको रात्रिकालीन व्यवसाय आचारसंहिता पालना नहुँदा सबैलाई सास्ती प्रहरीलाई दुख मात्र

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, भाद्र २०, २०८१

 

काठमाडौं । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन् । छाँया सेन्टरको नजिकै बस्ने उनी निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ ।

सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो । रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन् । बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताए ।

ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि प्रदूषण रहेको स्थानीय बताउँछन् । रातमा होहल्ला गर्ने, होटल, क्लबले चर्को स्वरमा गीत सङ्गीत बजाउँदा ठमेल र आसपासका बासिन्दालाई असर परेको स्थानीय मर्हजनले सुनाए ।

“क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौँ, हालसम्म सुनुवाइ भएको छैन”, उनले भने, “प्रहरीमा कुरा पु¥याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ ।” स्थानीयको मात्रै नभई होटलमा बस्ने पाहुना तथा पर्यटकलेसमेत ठमेल व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएका महर्जनले उल्लेख गरे ।

होटलमा रातिको समयमा निदाउन नपाउँदा स्वास्थ्यमा समस्या देखिन थालेको पीडित पर्यटकले गुनासो सुनाउने गरेका पर्यटक व्यवसायी भविश्वर शर्माले बताए । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहेका उनले २४सै घण्टा सञ्चालन गर्न बनाएको आचारसंहिता पालना नभएकाले यहाँका स्थानीय, पर्यटक र व्यवसायीलाई सास्ती हुने गरेको जानकारी दिए ।

“ध्वनि प्रदूषण भयो भनेर पर्यटकहरुको गुनासो आउँछ”, शर्माले भने, “जथाभावी मादक पदार्थ सेवन गरेर सिसाका बोतल बाटोमै फाल्छन् । राति अबेरसम्म रमाइलोका नाममा चर्को स्वरमा गीत सङ्गीत बजाउँदा हामीलाई यहाँ रात काट्न सास्ती हुँदै आएको छ ।” सरोकार भएका निकायले कारबाहीको दायरामा ल्याउने कुनै पनि गतिविधि नगरेका उनले बताए ।

शर्माका अनुसार ठमेल क्षेत्रमा ३६ हजार पर्यटकलाई बस्न र खानसक्ने क्षमताका होटल सञ्चालनमा छन् । कोभिडयता आन्तरिक र बाह्य पर्यटक बढ्दै गए पनि रात्रिकालीन पर्यटन व्यवसाय व्यवस्थित बनाउन नसकिएको उनले सुनाए । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष शर्माले आफ्नो कार्यकालमा जिल्ला सुरक्षा परिषद्, स्थानीय निकायसँग मिलेर प्रत्येक दुई महिनामा अनुगमन गर्दै आए पनि अहिले त्यस्तो निगरानी कम भएको जिकिर गरे ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरी प्रशासनले रात्रिकालीन ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित व्यवसायलाई सुरक्षा दिई स्थानीयलाई शान्ति दिनका लागि गुनासो सङ्कलन गरी समाधानको प्रयास गरिरहेको जानकारी दिए । “यस क्षेत्रमा शान्तिसुरुक्षाका हिसाबले सन्तोषजनक रहेको छ”, उनले भने ।

अपराधजन्य क्रियाकलाप नभए पनि प्रहरीसमक्ष राति बोटोमा हिँड्नेले हल्ला गरे भनेर फोनमार्फत गुनासो आउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए । “सुरक्षाका दृष्टिले ठमेल र दरबारमार्ग वृत्तमा थप जनशक्ति खटाएका छौँ”, उनले भने, “ट्याक्सीले बढी रकम मागे भनेर ग्राहकबाट गुनासो आउने गर्छन् । यस्तो बेला हामी तुरुन्तै प्रहरीले ठगी गर्नेलाई खोजी कारबाही गर्दै आएका छौँ ।”

परिषद्ले निर्धारण गरेको रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने, अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पु¥याउन तथा सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, सबै व्यवसायीको व्यापार मूल्यसूचीमा एकरुपता हुनुपर्ने, ग्राहकलाई भ्याटबिल दिनुपर्ने, रातिमा खोलिने व्यवसायीले शौचालयको व्यवस्था र सुरक्षा गार्ड अनिवार्य रुपमा राख्नुपर्ने, सबै व्यवसायी करको दायरामा आउनुपर्नेलगायत बुँदा रहेका छन् ।

त्यस्तै कलाकारले मौलिकता, संस्कृति झल्किने किसिमका गायन तथा नृत्य प्रदर्शन गर्नुपर्ने उल्लेख छ । डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अश्लीलता प्रदर्शन नहुनेगरी स्वस्थ मनोरञ्जन दिँदै कलाकृति र ुंस्कृति झल्कने किसिमका देखाउनुपर्ने आचारसंहिता उल्लेख गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव बद्री तिमल्सिनाले होटल व्यवसायी र सेवाग्राहीले आचारसंहिता आत्मसात् नगरेको बताए । परिषद्ले समयसमयमा अनुगमन गर्नुका साथै सुरक्षालाई कडाइ गर्न प्रहरी परिचालन गरिरहेको उनले जानकारी दिए । “आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराउन अभ्यासरत छौँ । आचारसंहिता उल्लेख गरिएका बुँदाको पर्यन व्यवसायीले पालना गरी सहयोग गर्न अनुरोध गर्दछौँ”, उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]