अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ
‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन
घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा देशको पहिचान स्थापित गर्ने उद्देश्यसहित प्रतियोगितामा सहभागी हुन जान लागेका विद्यार्थीलाई विद्यालयले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो।
विद्यालयका प्रमुख केशरमान बुढाथोकीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अभिभावक, सञ्चारकर्मी, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन कृष्णदेव थापाले गर्नुभएको थियो।
प्रमुख अतिथि सबिन प्रियासन चौधरीको भनाइ
कार्यक्रममा प्रमुख अतिथि सबिन प्रियासन चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु विद्यार्थीका लागि आफ्नो प्रतिभा प्रस्तुत गर्ने, नयाँ अनुभव हासिल गर्ने र विभिन्न देशका विद्यार्थीबीच ज्ञान, सीप तथा संस्कृतिको आदानप्रदान गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “विद्यार्थीहरू देशका भविष्य मात्र होइनन्, वर्तमानका सम्भावना पनि हुन्। उनीहरूले प्राप्त गर्ने अवसर, सिक्ने ज्ञान र हासिल गर्ने अनुभवले भविष्यको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु भनेको पुरस्कार जित्नु मात्र होइन, आफ्नो क्षमता चिनाउनु, नयाँ कुरा सिक्नु र आत्मविश्वास बढाउनु पनि हो।”
उहाँले विद्यार्थीहरूलाई प्रतियोगितामा अनुशासित, मर्यादित र आत्मविश्वासी भएर सहभागी हुन आग्रह गर्दै आफ्नो विद्यालय, अभिभावक र देशको प्रतिष्ठा उच्च राख्ने गरी प्रस्तुत हुन सुझाव दिनुभयो।
विद्यार्थीको सफलताका लागि विद्यालय, शिक्षक र अभिभावकको भूमिका उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले बालबालिकाको प्रतिभा पहिचान गरी त्यसलाई निखार्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक ज्ञान, सिर्जनशीलता, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावनाको विकासमा समेत जोड दिनुपर्ने धारणा राख्नुभयो।
सो अबसरमा विद्यालयका प्रमुख केशरमान बुढाथोकीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइसँगै अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक अभ्यास र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागितालाई विद्यालयले प्राथमिकता दिँदै आएको बताउनुभयो। यस्ता अवसरले विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी अभिभावक, शिक्षक तथा सञ्चारकर्मीहरूले विद्यार्थीको सफलताको कामना गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका थिए।
सभ्यता पाठशालाले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूमा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्न विभिन्न अवसर प्रदान गर्दै आएको छ। भारतको लखनौमा हुने अन्तर्राष्ट्रिय कोफाज २०२६ मा विद्यार्थीको सहभागिताले उनीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।