२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

भारतको प्रसिद्ध तीर्थस्थल तिरुपति मन्दिरको प्रसादमा जनावरको बोसो मिसाइएको पाइयो

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आश्विन ०६, २०८१

 

काठमाडौं । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले यसअघिको सरकारका पालामा प्रसादको रूपमा लड्डु बनाउन शुद्ध घीउको सट्टा जनावरको बोसो मिसिएको घिउ प्रयोग गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियो ।

शेषाचालम पर्वतमा अवस्थित तिरुमला तिरुपति देवस्थान विश्वको सबैभन्दा धनी तीर्थस्थल मध्ये एक हो । यो तीर्थयात्रा शेषाचालम पर्वतमा छ ।

भगवान् बैङ्कटेश्वरको यो मन्दिर राजा तोन्डमनले बनाएका थिए । पछि चोल, पाण्ड्य र विजयनगरका राजाहरूले पनि यस मन्दिरका लागि योगदान पुर्‍याए ।

मन्दिरको प्राणप्रतिष्ठा ११औँ शताब्दीमा रामानुजाचार्यले गरेका थिए ।

भगवान् बैङ्कटेश्वरले पद्मावतीसँग विवाह गर्ने योजना बनाउँदा पैसाको अभाव भएकोले धनका देवता कुबेरकहाँ गएर एक करोड रुपैयाँ र एक करोड सुनको सिक्का मागेको धार्मिक मान्यता छ ।

तिरुमला मन्दिरमा हरेक वर्ष करिब एक टन सुन चढाइन्छ । मुख्य मन्दिर परिसर बलियो पर्खालले घेरिएको छ र मन्दिर भित्र फोटो खिच्न अनुमति छैन ।

अहिले चर्चामा रहेका लड्डु मन्दिरको गोप्य भान्छामा तयार पारिन्छन् । यो भान्सालाई पोट्टु भनिन्छ ।

तिरुमला तिरुपति देवस्थानमका अधिकारीहरूका अनुसार भक्तजनहरूलाई लड्डु, वडा, अप्पम, मनोहरम, जेरी जस्ता प्रसाद वितरण गरिन्छ ।

यीमध्ये, लड्डु सबैभन्दा पुरानो र लोकप्रिय प्रसाद हो । प्रसादका रूपमा दिने चलन ३०० वर्षदेखि चलिआएको बताइन्छ ।

सन् २००९ मा तिरुपति लड्डुलाई भौगोलिक सङ्केत दिइएको थियो । यहाँको लड्डु चना, मखन, चिनी, काजु, किसमिस र अलैँचीबाट बनाइन्छ । तिरुमला तिरुपति देवस्थानम (टीटीडी)का कार्यकारी अधिकृत श्यामला रावले मिसावटको पुष्टि गर्दै यसअघि वनस्पति घिउ मात्रै मिसाइने पाइएको र अहिले बोसोको मात्रा पनि पाइएको बताएका हुन् ।

मन्दिरमा घिउको आपूर्ति गर्दै आएका पाँच कम्पनीमध्ये एउटाको गुणस्तरबारे प्रश्न उठेपछि उक्त कम्पनीलाई कालोसूचीमा राखिएको छ ।

तमिलनाडुको एआर डेरी फुड्स कम्पनीबाट मगाइएको १० ट्याङ्कर घिउमध्ये छ ट्याङ्कर घिउ प्रयोग भइसकेपछि चार ट्याङ्करको नमुना परीक्षणको प्रतिवेदनमा मिसावट देखिएपछि फिर्ता पठाइएको एक अधिकारीले बताएका छन् ।

तर एआर डेयरी फुड्सले एक विज्ञप्ति जारी गर्दै शुद्ध घिउ दिइएको दाबी गरेको छ ।

मन्दिर व्यवस्थापन गर्ने कार्यालय टीटीडीले केही घिउको नमुना परीक्षणका लागि गुजरातको राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाको प्रतिवेदनमा घिउमा ‘एस भ्यालु’ कहिले बढी र कहिले कम देखिएको थियो । त्यसको विश्लेषणबाट बोसो मिसाइएको निष्कर्ष अधिकारीहरूले निकालेका थिए ।

पाँच वटा मापदण्डका आधारमा गरिएका परीक्षणमध्ये सबै मापदण्डमा घिउको नमुनामा मिसावट रहेको देखिएको थियो । प्रयोगशालाले वनस्पतिको तेल र जनावरको बोसो दुवै मिसावट भएको प्रतिवेदन दिएको बताइएको छ ।

एक विज्ञले उक्त प्रतिवेदनका आधारमा जनावरको बोसो मिसावट भएको हो वा होइन भन्न नसकिने बताए ।

‘भारतमा सामान्यतः घिउमा पाम आयल मिसाइन्छ । तर टीटीडीको हकमा के भयो म ठ्याक्कै भन्न सक्दिनँ,’ उनले भनेका छन् ।

अघिल्लो सरकारले घिउ खरिदका लागि बोलपत्र आह्वान गर्दा प्रतिकिलो ३१९ भारतीय रुपैयाँका दरले गाईको घिउ उपलब्ध गराउने सहमति भएको थियो । तर धेरै विज्ञहरूले यो मूल्यमा गाईको घिउ उपलब्ध गराउन नसकिने बताएका छन् ।

प्रसादको गुणस्तरलाई लिएर एकातिर भक्तजनको भावनामा ठेस पुगेको छ भने अर्कोतिर यस विषयमा राजनीति पनि सुरु भएको छ ।

पूर्वमुख्यमन्त्री जगनमोहन रेड्डीले अहिलेका मुख्यमन्त्री चन्द्रबाबु नायडूको १०० दिनको शासन राम्रो नभएका कारण ध्यान मोड्नका लागि उनले यो मुद्दा उठाएको आरोप गाएका छन् ।

भाजपा, जनसेना, कांग्रेस लगायत प्रमुख दलका नेताहरूले घिउमा भएको दाबी गरिएको मिसावटको विषयमा विस्तृत अनुसन्धान गर्न माग गरेका छन् ।

सेप्टेम्बरको सुरुबाट लाड्डु लिन कुपन देखाउने व्यवस्था गरिएको छ । सबैलाई एउटा लड्डु सित्तैमा दिइन्छ । त्यसबाहेक थप एउटा लड्डु लिन चाहनेले ५० रुपैयाँ भारु तिर्नुपर्छ ।

मन्दिरमा भक्तजनका लागि ७,५०० सय वटा ठूला लड्डु र ३,५०० सय वडा बनाउने गरिन्छ । सन् २००८ सम्म कसैले एउटा लड्डुबाहेक प्रसाद चाहियो भने २५ भारतीय रुपैयाँमा दुई वटा लड्डु दिइन्थ्यो । यसपछि मूल्य बढाएर ५० रुपैयाँ भारु पुर्‍याएपछि विवाद भएको थियो । बीबीसीको रिपोर्टमा आधारित

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]