काठमाण्डू । सत्तारूढ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरी मालीगाउँ ल्याइएको बताएका छन् ।
निर्मला कुर्मीलाई न्याय माग गर्दै रूबी खानको अगुवाईमा मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीनिवास बाहिर गरेको प्रदर्शनका क्रममा शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले रूबी खानसहित अरु ७ जनालाई नियन्त्रणमा लिएको छ ।
शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरेर मालीगाउँ र त्यहाँबाट स्वास्थ्य परिक्षणका लागि भन्दै वीर अस्पताल लगेको बताए ।
आफूलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले केही नबताएको उनले जनाए । प्रदर्शनका कारण सवारी जाम भएको र गाडी रोकेर के भएको रहेछ भनेर बुझ्न गएका बेला नियन्त्रणमा लिइएको उनले उल्लेख गरे ।
शिवाकोटी काँग्रेस महामन्त्री गगन थापा निकट मानिन्छन् ।