बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे।
चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ,’ तामाङले भने, ‘भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो।’
भारतमा रोजगारीका लागि गएका नेपाली चाडपर्वका बेला ठूलो संख्यामा स्वदेश फर्किने भएकाले जमुनाहा नाकामा यात्रुको चाप बढ्ने गरेको उनले बताए। यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइने उनले बताए।
बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको बताए। भारतबाट फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने गरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए।
भारतबाट फर्किने नेपालीको चापलाई लक्षित गरी जमुनाहा नाकामा सोमबारदेखि तथा नेपालगन्ज र कोहलपुर बसपार्कमा मंगलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिने जिसीले जानकारी दिए।
सहायता कक्षमा जनपद प्रहरीसँगै ट्राफिक प्रहरीसमेत परिचालन गरिएको छ। यात्रुको सुरक्षा, यातायात व्यवस्थापन, ठगी तथा लुटपाट नियन्त्रण र आवश्यक समन्वयका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
यात्रु सहायता कक्ष शुभारम्भ कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरीका प्रमुख एसपी भीमबहादुर चन्द, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख कनकबहादुर शाही र इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज राजनप्रसाद भट्टराईलगायत सुरक्षा निकायका अधिकारीको सहभागिता थियो।