कर्णाली प्रदेश । २०८० साउन २४ गते पदस्थापन भएका प्रजिअ सुरेश सुनारको २०८० चैत १६ गते सरुवा भएको थियो । त्यसैगरी २०८० चैत ११ मा पदस्थापन भएका प्रजिअ ऋषिराज आचार्यको २०८१ असार ६ गते सरुवा भएको थियो ।
२०८१ असार १३ गते पदस्थापन भएका प्रजिअ उमाकान्त अधिकारीको गृहमन्त्रालयले २०८१ कातिक ८ गते सरुवा गरेको छ । जाजरकोट जिल्लामा हालका लागि गृहमन्त्रालयले मेखबहादुर मग्रातिलाइ सरुवा गरेको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको जिल्लामा आएको चार महिनामै सरुवा हुदा यहाँका जनप्रतिनिधि,राजनितिक दल, नागरिक समाज असन्तुष्ट भएका छन । जाजरकोट भूकम्प पश्चात यहाँका नागरिकहरु टिनको छाना मुनी रात बिताइरहेकै अवस्थामा चौमासीक रुपमा हुने सरुवाले यहाँका नागरिकहरु आत्रोसीत भएका छन् ।
भूकम्प प्रभावितहरुको दोस्रो किस्ताको रकम निकासा, संघ, प्रदेश तथा स्थानीय तहहरु बिच सम्पर्क समन्वयमा आफ्नो भूमिका प्रभावकारी रुपमा देखाएका प्रमुख जिल्ला अधिकारीको छोटो समयमानै सरुवा भएपछि अहिले जाजरकोटीहरुको मनमा निराशा छाएको छ ।
जिल्लामा रहने नेपाल सरकारको आधिकारिक प्रतिनीधि प्रमुख जिल्ला अधिकारीलाई चार–चार महिनामा गृहमन्त्रालयबाट गरिने सरुवाको विषयलाइ लिएर यहाँका नागरिक संस्थाहरुले विज्ञप्ति निकालेका छन् । भूकम्पले क्षतिग्रस्त भएको जाजरकोट जिल्लाको पुनर्निर्माण, विकास निर्माण र नागरिक सेवा प्रवाहमा प्रमुख जिल्ला अधिकारीको महत्त्वपूर्ण भूमिका रहने नागरिक संस्थाहरुले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एक सय ५७ जनाको ज्यान लिनुको साथै तीन सय जनाभन्दा बढि नागरिक घाइते हुनेगरी गत वर्षको कात्तिक १७ गते मध्येराति गएको भूकम्पको पराकम्पनले जाजरकोट जिल्लाका ४२ हजारभन्दा बढि घरपरिवारलाई घरबास विहीन बनाएको थियो । भूकम्पको पराकम्पनबाट घरबासविहीन भएका नागरिकहरु एक वर्षको समय बितिसक्दा पनि टिनको छाना मुनी बस्न बाध्य भएको उल्लेख गर्दै विज्ञप्तिमा अस्थायी आवासको दोस्रो किस्ता पाउन नसकेको विषयलाई जोड दिइएको छ ।
राम्रोसँग जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई काम गर्न नदिने परम्पराले जिल्लाको विकासमा ठूलो घाटा र क्षति हुने मानवअधिकारकर्मी खम्ब जंग शाहको भनाइ छ । नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले चौमासीक रुपमा हुने सरुवाले प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कार्यदक्षतानै देखाउन नदिने दुःखद अवस्था सरकारले सृजना गरेको बताउनुहुन्छ ।
जाजरकोट र जुम्लालाई नजिक बनाउने, लुम्बिनी रारा राजमार्ग, स्थानीय सडकमार्फत जुम्ला र जाजरकोटको विकासमा ठुलो भूमिका खेल्न सक्ने समन्वय र सहकार्यको वृद्धि गर्ने, सेवा प्रवाहमा प्रभावकारी भूमिका खेल्ने प्रजिअको यति छोटो समयमै सरुवा हुनु जिल्लावासीको लागि दुर्भाग्य भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहको भनाइ रहेको छ ।