काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो । चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज (मंगलबार) दर्ता भएको जिल्ला अदालत चितवन स्रोतले जानकारी दिएको छ ।
सरकारी वकिल कार्यालयले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।
चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि ढाँचा र तथ्यतथ्यांक नमिलेको भन्दै पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न प्रतिवेदनको फाइल प्रहरीलाई फर्काएको थियो ।
त्यसको केही दिनपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । त्यसको अध्ययन सकेर आज (मंगलबार) सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।