डडेल्धुरा,। आलिताल गाउँपालिका ५ भिमदत्तपुरमा प्रहरी चौकी आलिताल, डडेल्धुराको लागि आलिताल गाउँपालिकाद्वारा नव-निर्मित भवनको गाउँपालिका अध्यक्ष शेर सिहं पार्की ज्यूको अध्यक्षता, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्द ज्यूको प्रमुख आतिथ्यता र आलिताल गाउँपालिकाका उपाध्यक्ष मैना कुमारी रावल बोहरा ज्यूको बिशिष्ट अतिथ्यतामा आयोजित एक समारोहका विच भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
आलिताल गाउँपालिकाद्वारा आफ्नै विनियोजित वजेट रु.४७,५४,७४२ ।- रुपैयाँको लागतमा निर्मित उक्त २ तले ७ कोठे (कार्यालय प्रमुख कक्ष, महिला-पुरुष हिरासत कक्ष, महिला-पुरुष ब्यारेक समेतको संरचना भएको) भवन जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख प्र.ना.उ. सुगन्ध श्रेष्ठ ज्यूलाई हस्तान्तरण पश्चात उक्त भवनको उद्घाटन सम्पन्न भएको छ ।
भवनको हस्तान्तरण तथा समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कार्यक्रमका प्रमुख अथिति प्रहरी नायव महानिरीक्षक गणेश चन्द ज्यूले आलिताल गाउँ पालिकाले आफ्नै योजना र बजेटमा प्रहरी चौकी आलितालको लागि नयाँ भवन निर्माण गरि हस्तान्तरण गरेकोमा गाउँपालिका परिवार तथा कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भयो । प्रहरी चौकीका लागि स्थानिय सरकारद्वारा नयाँ भवन निर्माण भई हस्तान्तरण सम्पन्न यस कार्यले प्रहरी र समाज बिचको आपसी सम्वन्ध प्रष्ट भएको र नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुको मनोवल उच्च हुनुका साथै सुबिधा सम्पन्न भवनले कार्यरत प्रहरीमा थप जोश, जाँगर र उर्जा बढेर जाने हुँदा प्रहरी कर्मचारीहरुले नागरीक-मैत्री प्रहरी सेवा प्रदान गर्ने कुरामा आफु बिश्वस्त रहेको बताउदै आम नागरिकहरुलाई प्रदान गरिने सेवा समेत समय सापेक्ष र गुणस्तरीय हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले कार्यरत प्रहरी कर्मचारीहरुलाई कानून कार्यान्वयनमा कुनै सम्झौता नगर्न र अपराध अनुसन्धान तथा नियन्त्रणमा स्थानिय तह एवं नागरीक समाजसँग हातेमालो गरी कार्य गर्न समेत निर्देशन दिनुभयो ।