- महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले ४० पोकामा रहेको ६०४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार राति जलेश्वर–बर्दीबास सडकखण्डस्थित भंगहा नगरपालिका–६ मजराबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जमुनियाको संयुक्त टोलीले प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकको हुडमा डोरीले बाँधेर कालो प्लास्टिकले छोपिएको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानका अनुसार विशेष सूचनाको आधारमा गरिएको छड्के कारबाहीमा ट्रक चालक उदयपुर कटारी नगरपालिका–१ निवासी २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ। गाँजाको अवैध तस्करी नियन्त्रणका लागि प्रहरीलाई सक्रिय बनाइएको प्रवक्ता चौहानले बताए।
महोत्तरी प्रहरीले पछिल्लो समयमा अवैध लागूऔषध तस्करी नियन्त्रणमा थप निगरानी र सक्रियता अपनाएको बताउँदै जिल्लामा यस्ता घटनाविरुद्ध कडा कारबाही गरिने जानकारी दिएको छ।