२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

देशको समृद्धि र उन्नतिका निमित्त आफूलाई साथ दिन पुर्व राजा ज्ञानेन्द्रको सबैलाई आह्वान,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, फाल्गुण ०७, २०८१

काठमाडौं । पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहले नेपालको इतिहास मेटिँदै गएको र अस्तित्व नासिँदै गएको औंल्याउँदै राष्ट्रिय एकता कायम राख्न र राष्ट्र जोगाउन लागिपर्नुपर्ने समय आएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७)को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले देशको समृद्धि र उन्नतिका निमित्त आफूलाई साथ दिन सबै देशवासीलाई आह्वान् पनि गर्नुभएको छ ।

समस्त नेपालीजनको नाममा दिइएको भिडियो सन्देशमा राजा ज्ञानेन्द्रले भन्नुभएको छ- ‘राष्ट्ररक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के-के त्याग गर्नुपर्ने हो हामी तयार छौँ । हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुख–सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन । र, त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन ।’

यस्तो छ राजा ज्ञानेन्द्रद्वारा जारी शुभकामना सन्देशको पूर्ण विवरण-

नेपाली दिदीबहिनी तथा दाजुभाइहरू !

नेपालमा प्रजातन्त्रको मिर्मिरे बिहानी उदय भएको फागुन ७ गतेको शुभ सन्दर्भमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौँ । प्रजातन्त्र स्थापनाका लागि उदारता दर्शाइबक्सिने हाम्रो जिजुबुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभुवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौँ ।

जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागिपरेको इतिहास साक्षी छ । यसैले प्रजातन्त्रका लागि जीवनदान दिने ज्ञात–अज्ञात शहीदहरू र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरूप्रति पनि हामी उच्च सम्मान भाव राख्दछौँ ।

प्रजातन्त्र आजको युगको उत्तम शासन पद्दति हुनुपर्ने हो । आम जनताको मन, मगज र मतका आधारमा देशको विधि, व्यवस्था तथा मान्यताअनुसार राज्य सञ्चालन गर्ने सर्वमान्य आदर्श पनि हुनु पर्दथ्यो । यसबाट हामी कोही विमुख छैनौँ । राष्ट्रभित्रका हरेक वर्ग, समूह वा व्यक्तिको हक-अधिकारको संरक्षण गर्दै प्रतिष्ठ तथा प्रगति अघि बढाउने प्रजातन्त्र सबैको प्रिय व्यवस्था हुनुपर्दथ्यो । यसमा कहीँ कसैको शंका हुन हुँदैन ।

प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई वादविवाद, द्वन्द्व, विग्रह वा विरोध-प्रतिरोधको अर्थले मात्र बुझ्नु हुँदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषीको रूपमा पनि हेर्नुपर्दछ । सुन्दर शब्द, आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक हुने होइन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनुपर्दछ । सबैको पहिचान हुनुपर्दछ । सबैको अस्तित्व सूरक्षित हुनुपर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष–विपक्षको अहंककार, आ–आफ्नै किसिमको स्वार्थ र हठवादले प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।

आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्तित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन अन्तै पोखिँदै गएको छ । जन्मदै नेपालीको शीरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार व्यवसाय निरन्तर धराशायी बन्दैछ । हुँदा–हुँदा हाम्रा शिक्षालयहरूहमा समेत शिक्षक र विद्यार्थीहरू पातलिँदै गएका छन् । ‘नेपालको पद्दति, नीति र गतिविधि ठिक छैन, यहाँ बसेर केही हुँदैन’ – श्रम, शीप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरूमा यस प्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।

प्रजातन्त्र आशा जनाउने प्रणाली हुनुपर्दछ । जनताको भरोसा बढाउने प्रणाली हुनुपर्दछ । प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भविष्य चम्किँदै जान्छ भन्ने भावना जागृत गराउने हुनुपर्दछ । तर, तीन दशकयताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेको र रोजेको पनि
त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा हो ।

हाम्रो यो नेपाल देशभक्त पुर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै सङ्कट नआओस् भन्ने हाम्रो परिकल्पना हो । यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । त्यतिमात्र होइन हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुख-सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन । र, त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै-कुनै पन्पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आशय पनि त्यही हो ।

हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौँ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौँ । विगतका कमी-कमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटी सच्च्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस् । देशका निम्ति, राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ । राष्ट्ररक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के-के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।

अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान् गर्दछौँ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!