ताप्लेजुङ । धार्मिक पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा जारी आन्दोलन नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले आज (आइतबार) बिहान ५ बजेबाट लागू हुने गरी फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । ‘नो केबलकार’ पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शन र जुलुसका कारण स्थानीयस्तरमा प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थिति देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ ।
ताप्लेजुङमा केबलकार निर्माण गरिनु पर्छ भन्नेहरू र केबलकार बन्न हुँदैन भन्नेहरूका बीचमा दिनहुँ प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । केही दिनयता ताप्लेजुङमा ‘नो केबलकार’ पक्षले केबलकार निर्माणको विरोधमा आन्दोलन गर्दै आएको छ । दुवै पक्षले आन्दोलन थालेपछि केही स्थानमा झडप समेत हुन थालेको छ ।
निषेधाज्ञा क्षेत्रको सीमा
१. फुङलिङ नगरपालिका बजार क्षेत्र
पूर्व ः फुङलिङ–७, सल्लेरी
पश्चिम : फुङलिङ–७, घोडेचौर (थलाङ धारा क्षेत्रसम्म)
उत्तर ः फुङलिङ–४, उकालीपानी
दक्षिण : फुङलिङ–६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल)
२. काफ्लेपाटी–बल्लुडाँडा क्षेत्र
पूर्व : पर्यटक प्रहरी भवनको १०० मिटर इलाका
पश्चिमः बल्लुडाँडा र डडेले इलाका
उत्तर : केबलकार बेस स्टेशन
दक्षिण : नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत)