काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी ६ गते एमालेले गर्ने प्रदर्शनले सरकार ढाल्ने दावी गरेका छन् । उपत्यकास्तरको ठूलो सभा ११ गते भृकुटी मण्डपमा गर्ने उनले बताए ।
आज सिमरा जान नपाएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बस्नेतले अध्यक्ष केपी ओलीको उपस्थितिमा युथ भोलेन्टियर्स फोर्स गठन हुने जानकारी दिए ।
उनले भने, ‘माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरिन्छ । कार्की बैंक्वैटमा अध्यक्षज्यूलाई बोलाएर युथ भोलेन्टियर्स घोषणा हुन्छ । ६ गतेको सभा व्यापक सफल भएपछि सुशील आमैले राजीनामा दिनुपर्छ भन्ने उनलाई थाहा छ ।’
अवैधानिक सरकार जरैदेखि हल्लिसकेको बस्नेतले दाबी गरे ।
उनले थपे, ‘यो अवैधानिक संविधानले नचिन्ने सरकार हो । जेन-जीको हजुरआमा सुशीला आमैले यो सरकार छोड्नुपर्छ भन्ने उनलाई थाहा छ । त्यसैले उनी यो कार्यक्रम नहोस् भन्ने चाहन्छिन् । बारामा हामीलाई रोकेर उनले एउटा धक्का दिएकी हुन् । तर, हामी रोकिँदैनौं । सुशीला आमै र गृहमन्त्रीजीलाई भन्न चाहन्छु, एमाले र युवासंघ भनेको दुबोजस्तो हो । हामी २० वटा पालुवा हाल्नेवाला छौं । हामी काठमाडौंमा अहिलेसम्म नभएको सभा गर्दैछौं ।’