भैरहवा । रुपन्देही जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मैदा, कस्मेटिक सामान, विद्युतीय सामग्री र कपडाहरू नियन्त्रणमा लिएको हो ।
प्रहरीले मायादेवी गाउँपालिका–७ हात्तीबनगाईमा भारतबाट अवैध रूपमा ल्याएर गोदाम गरी राखिएको २ लाख ५५ हजार रुपैयाँ बराबरको १०२ बोरा मैदा बरामद गरेको छ। त्यस्तै, सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बाइपास क्षेत्रबाट १ लाख २५ हजार रुपैयाँ बराबरका कस्मेटिक सामान, १२५ थान एलईडी चिम र दैनिक उपभोग्य वस्तुहरू प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, सिद्धार्थनगर नगरपालिका–३ भैरहवा बसपार्कमा चेकजाँच गर्दा लु ६९ प ५९२२ नम्बरको स्कुटरमा अवैध रूपमा ल्याइएका ५ सय थान जर्सी फेला परेको छ। प्रहरीले १ लाख ७५ हजारको जर्सी र ७० हजार मूल्याङ्कन गरिएको स्कुटरसहित सिद्धार्थनगर–४ का ३४ वर्षीय अवराध हुसेनलाई नियन्त्रणमा लिएको छ। बरामद गरिएका सम्पूर्ण सामान, स्कुटर र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुरज कार्कीले दिएका छन् ।