काठमाडौं । गत मंगलबार भक्तपुर बस्ने कोरियोग्राफर अर्जुन खड्काले एउटा व्यंग्यात्मक भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरे ।
जसमा ‘एमालेले कार्यकर्ता उतार्न पेट्रोलको कुपन बाँडेको’ विषयमा मात्रै व्यंग्य कसिएको छैन एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि प्रश्न उठाइएको छ । जसमा ओलीलाई ‘जेन-जी मारेर के पायौ ?’ भनेर र्याप शैलीमा प्रश्न गरिएको छ ।
२९ कात्तिकमा एमालेद्वारा सिरहा सदरमुकाममा आयोजित कार्यक्रममा मानिसको भिड देखाउन इन्धन वितरण गरिएको समाचार सार्वजनिक भएको थियो । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले मोटरसाइकल र्याली गरेको थियो । समाचारमा मान्छे उतार्न इन्धन बाँडिएको पेट्रोलको कुपनको तस्बिरसमेत प्रकाशित भएको थियो ।
यही तस्बिर खड्काले आफूले बनाएको टिकटकमा प्रयोग गरेका छन् । यही भिडियो सार्वजनिक भएको भोलिपल्ट खड्का आक्रमणमा परे । उनले आफू कुटपिटमा परेको कुरा सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गरेपछि के कन्टेन्ट क्रिएटरहरु सुरक्षित छन् भन्ने बहसको थालनी भएको छ । सँगै, आक्रमण गर्नेहरु को हुन् भन्ने खोजी पनि सुरु भएको छ ।
खड्काले आफ्नी आमा सुशीलालाई समेत प्रयोग गरेर विभिन्न भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको देखिन्छ । उनले त्यस दिन आफूले जेन-जी आन्दोलनमा ७६ जनाको ज्यान गएको र यस्तो अवस्थामा पनि कुनै एउटा पार्टीले कार्यकर्ता लोभ्याउन इन्धन बाँडेको खबर सुनेपछि त्यसको विरोध गर्न भिडियो बनाएको बताए ।
आमा र आफ्नो डान्स सेन्टरमा आउने विद्यार्थीलाई साथलमा लिई भिडियो बनाएकै कारण कुटाइ खाएको उनको भनाइ छ । उनी लोकन्थलीमा डान्स सेन्टर चलाउँछन् । भिडियो बनाएको भोलिपल्ट राति ९ बजेतिर कोठा फर्किने क्रममा पाँच जना अपरिचितले कुटपिट गरेको उनको भनाइ छ । ‘म सधैंझैं कक्षा सकेर फर्किंदै थिएँ । घर पुग्न लाग्दा एक समूहले मलाई ओ भाइ भनेर बोलायो । म पुगेँ । पुग्नेबित्तिकै गालामा एकजनाले हान्यो । पछि सबै जना मिलेर कुट्न थाले,’ उनले सुनाए, ‘स्थानीय मान्छे जम्मा भएपछि उनीहरू भागे ।’ कुट्नेहरुले ‘जे पायो त्यही भिडियो बनाउँछस्, झोले भन्छस्’ भन्दै कुटेको उनले बताए ।
कुटपिटपछि आफू बेहोसजस्तै बनेको उनको भनाइ छ । यो घटनापछि डरकै कारण आफू प्रहरीमा जान समेत नसकेको उनले बताए । ‘म सामान्य मान्छे हो। त्यतिबेला डर लागेर बोलिएको थिएन। परिवारले सुरक्षाका लागि बोल्नुपर्छ भन्ने कुरा गर्नुभएको छ,’ उनले भने, ‘कानुनी प्रक्रिया धेरै थाहा छैन । आज कुट्नेले भोलि जे पनि गर्न सक्छन् भनेर डराएको छु ।’
क्रिएटरहरुको सहयोग
उनले सो भिडियो कतिबेला अपलोड गरेका रहेछन् भनेर ‘पपस्टार’ डिजिटल टुलमा चेक गर्दा बुधबार बिहान ८ बजेर १७ मिनेटमा अपलोड गरेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडियो ३४ लाख पटक हेरिएको छ । तीन सयभन्दा धेरै रिएक्ट, तीन हजारभन्दा बढी कमेन्ट देखिन्छ ।