पर्सा । वीरगञ्ज महानगरपालिका १५, भिष्वास्थित एनएमसी रोडमा रहेको मनिष फ्रुट सप्लायर्सको गोदाममा लुकाई छिपाइ राखिएको १५० क्यारेट (करिब २,२५० किलो) केरा संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले शुक्रवार साँझ गोदाममा छापा मार्दा गोदाम सञ्चालक शम्भु कुमार गुप्ताले भारतबाट अवैध रूपमा भित्र्याएर भण्डारण गरेको अवस्थामा केरा फेला पारेको थियो ।
“नेपाली किसानले उत्पादन गरेका तरकारी र फलफूलले बजार नपाइरहेको तथा भारतबाट चोरी पैठारी भित्र्याइएका सामानले बजार कब्जा गरिरहेको गुनासो बढेपछि हामीले सीमा क्षेत्रमा कडाइ गरेका छौँ,” सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विश्वराज योन्जनले भने, “यो अभियानलाई थप प्रभावकारी बनाउँदै राजश्व सङ्कलनमा पनि योगदान पुर्याउने लक्ष्य छ ।”
बरामद केरा आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।