बारामा सरकारी कार्यालयभित्रै खुलामखुला सत्ता–दबाबको दुरुपयोग भएको सनसनीपूर्ण आरोप सार्वजनिक भएको छ।
बारा, कलैयास्थित यातायात कार्यालयमा कार्यालय प्रमुख अर्विन्द्र दासले आफू मातहतका कर्मचारीलाई डर–धम्की र बल प्रयोग गरी दमन गर्न खोजेको गुनासो बाहिरिएको छ।
बुधबार साँझ करिब साढे पाँच बजे कार्यालयमै खरिदार सत्यनारायण साहमाथि दासकै उक्साहटमा कुटपिट गरिएको दाबी गरिएको छ। हालै भएको सरुवाको रिस साहमाथि उतारेको आरोप लगाउँदै दासले “तेरो कारणले मेरो सरुवा भयो” भन्दै हातपात गर्न खोजेको बताइएको छ।
प्रमुख दासका दुई भाइ—करार कर्मचारी भिखारी दास र बिकेश दास—संग मिलेर खरिदार साहमाथि गुन्डा शैलीमा कुटपिट गरिएको आरोप छ।
घटनापछि खरिदार साह गम्भीर रूपमा घाइते भएका छन्। उनको अनुहार सुन्निने गरी चोट लागेको छ। कार्यालय प्रमुख दासलाई समेत केही चोट लागेको बताइए पनि साहमाथि भएको आक्रमण क्रूर र योजनाबद्ध देखिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।
सरकारी सेवा प्रदान गर्ने ठाउँलाई आतंक फैलाउने वातावरण बनाइएको भन्दै कर्मचारीहरूले आक्रोश व्यक्त गरेका छन्। घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराले दुवै पक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
यस घटनाले पद र शक्तिको घमण्डले सरकारी कर्मचारीमाथि हातपात गर्ने प्रवृत्ति कति खतरनाक बन्दै गएको छ भन्ने पुनः देखाएको साहका सहकर्मीहरूको टिप्पणी छ। साहमाथि भएको हिंसात्मक व्यवहारका दोषीमाथि कडा कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन्।