चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो ।
मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको क्रममा न्यायाधीश केदारनाथ पौडेलको इजलासले महतलाई २ लाख रूपैयाँ धरौटीमा रिहा गरी बाहिर बसेर मुद्दा लड्न आदेश दिएको हो ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले महत अहिले निलम्बनको अवस्थामा रहेको र उनको मुद्दा अन्तिम किनारा नलागेसम्म नियमित काममा फर्किन नमिल्ने बताए ।
इन्स्पेक्टर महतमाथि ३७ वर्षकी महिलाले पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी दर्ता गरेकी थिइन् । गत असोज १ गते कार्यालयमा समस्या लिएर जाँदा छलफलपछि कफी खान बोलाएर सोही क्षेत्रको एक क्याफेमा लगि न्याय दिलाइदिन्छु भन्दै प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।
पहिलोपटक जबर्जस्ती गरेको विषयमा जाहेरी गर्न प्रहरीकहाँ जान्छु भन्दा ‘कार्यालय आइज कुरा गर्नुछ’ भनेपछि इप्रका खैरहनीको कार्यकक्षमा नै इन्स्पेक्टर महतले जबरजस्ती करणी गरी कुटपिट समेत गरेको ती महिलाले जाहेरीमा खुलाएकी थिइन् ।