काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले मातहतका ट्राफिक प्रहरीलाई आर्थिक अनुशासनमा कुनै सम्झौता नगर्न कडा निर्देशन दिनुभएको छ।
आज आइतबार आयोजित सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले भन्नुभयो –
> “राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ। पैसा कमाउन मन लागे जागिर छोड्नुस्। तपाईंको व्यक्तिगत स्वार्थले संगठन चल्दैन। प्रहरी पोसाकको आडमा अनियमितता गर्नेलाई छुट हुँदैन।”
उहाँका अनुसार चालु आर्थिक वर्ष सुरु भएयता मात्रै आचरणविपरीत काम गरेको आरोपमा २० देखि २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेका छन् ।
एसएसपी काफ्लेले ट्राफिक प्रहरीको मुख्य काम नागरिकलाई सास्ती दिने नभई सेवा दिने भएकोले व्यक्तिगत रिसिवी नराखी, परिस्थिति बुझेर विवेक प्रयोग गर्न पनि निर्देशन दिनुभएको छ। जस्तै – घाइतेलाई अस्पताल पुर्याउन हतारिएको सवारी र मापसे गरेर नियम तोड्ने सवारीलाई एउटै नजरले हेर्न नहुने उहाँको भनाइ थियो।
तर जानाजानी नियम उल्लंघन गर्ने र सडकमा होहल्ला गर्नेमाथि भने कडा कारबाही गर्न उहाँले निर्देशन दिनुभएको छ।