काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ।
२०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
केसीलाई प्रहरी प्रधान कार्यालयको अन्वेषणमा तानिएको छ भने सप्तरीमा नवराज मल्ललाई पठाइएको छ।
यसअघि केसीसहित ४८ एसपी एकै लटमा सरुवा भएका थिए। तर शुक्रबार ४६ जनाको सरुवा हुँदा उक्त लटबाट केसी मात्रै सरुवामा परेका हुन्।
मुस्तकिम मियाँमाथि फागुन १४ गते राजविराजको हनुमानचोकबाट एक व्यक्तिलाई नियन्त्रणमा लिएर बन्दुक देखाउँदै सुनसान स्थानमा पुर्याई लुटपाट, कुटपिट र अमानवीय व्यवहार गरेको आरोप छ।
जाहेरीअनुसार पीडितलाई निर्वस्त्र बनाएर नचाएको, भिडियो खिचेको, भुइँमा थुकेर चाट्न लगाएको र घटना सार्वजनिक गरे भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोप लगाइएको छ।
मियाँ श्रममन्त्री रामजी यादवको सचिवालयमा हलुका सवारी चालकका रूपमा नियुक्त थिए। उनले आफूलाई मन्त्रीको स्वकीय सचिवका रूपमा समेत चिनाउने गरेको बताइएको छ।
पीडितको जाहेरीपछि जिल्ला अदालत सप्तरीबाट वैशाख २४ गते प’क्राउ अनुमति लिएर प्रहरीले वैशाख २८ गते मियाँलाई नियन्त्रणमा लिएको थियो।