दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट निर्माणका लागि सदनमा बजेट विनियोजन गर्न दबाब दिन, यदि वर्तमान सरकारले बजेट नहालेमा श्रमदानबाट भएपनि एयरपोर्ट निर्माण गर्ने क्रममा साम्पाङको महत्वपूर्ण सहभागिता हुनुपर्ने अनुरोध गर्नुभएको छ । प्रियासननले सामाजिक सञ्जालमा लेख्नुभएको छ-
तुल्सीपुरको टरीगाउँ स्थित विमानस्थल २०१० सालमा बनेको नेपालकै पुरानो विमानस्थल मध्यको एक हो। सरकारले यो वर्ष पनि यहाँ बजेट विनियोजन गरेन भने अब श्रमदानबाट भएपनि एयरपोर्ट बनाउनुपर्छ । त्यसैले हर्क साम्पाङज्यू हजुरलाई अनुरोध छ, यो विषयमा सदनमा हजुरले पनि आवाज उठाइदिनुहोस्, यति गर्दा पनि बजेट परेन भने एयरपोर्टको लागि श्रमदान गर्नुपरेमा हजुरको पनि नेतृत्वदायी सहभागिता हुनुपर्छ ।
सबिन प्रियासन ( संयोजक)
घोराही बनाउँ अभियान
एवं, केन्द्रीय सचिव नेपाल पत्रकार महासङ्घ