काठमाडौं। विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मीको पारो लगातार बढिरहेको छ। केही स्थानमा निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रममा वृद्धि भइरहेको बेला देशका केही भूभागमा भने हल्का वर्षाको सम्भावना समेत देखिएको छ।
यसै सन्दर्भमा वरिष्ठ मौसमविद् विभूति पोखरेलले नेपालमा हाल पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा पूर्वी क्षेत्रको नजिक रहेको जानकारी दिएकी छन्।
उनका अनुसार अब बिस्तारै देशको मध्य भागमा वर्षा रोकिनेछ भने अत्यधिक गर्मी र तापक्रम अझै बढ्नेछ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागहरूमा ‘तातो दिन’ को स्थिति रहेकाले आवश्यक पूर्वतयारीमा रहन उनले सुझाव दिएकी छन्।
हालको मौसमी अवस्थालाई निरन्तर निगरानी गरिरहेको बताउँदै मौसमविद् पोखरेलले भनिन्, “अझै दुई-तीन दिन लगातार यस्तै अवस्था देखिएमा बेलुकासम्म ‘तातो लहर’ (लू) चलेको हो भनेर प्राविधिक रूपमा पुष्टि गर्नुपर्ने हुन्छ।”
यस वर्ष देशका धेरै स्थानहरूमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ। यद्यपि, कम वर्षा हुनुको अर्थ बाढी-पहिरोको जोखिम नहुनु भने नभएको उनले प्रष्ट पारिन्।
“लामो समय खडेरी पर्ने र एकैचोटि भारी वर्षा हुने मौसमको बदलिँदो प्रवृत्तिका कारण बाढी र पहिरोको जोखिम उत्तिकै रहन्छ, जसका लागि पूर्वतयारी अनिवार्य छ,” पोखरेलले भनिन्। गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिमको विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएम) बाट समेत जानकारी आएको तर समग्र वर्षा भने सरदरभन्दा कम नै देखिएको उनले उल्लेख गरिन्।
पछिल्लो समय नेपालमा मौसम पूर्वानुमानमा प्रविधिको व्यापक प्रयोग हुन थालेकाले सर्वसाधारणलाई पूर्वसूचना दिन धेरै सहज भएको उनको भनाइ छ। विगतको तुलनामा अचेल पूर्वानुमान बढी मिल्नुको मुख्य कारण आधुनिक प्रविधिको प्रयोग नै भएको र जति नयाँ प्रविधि अपनाउन सकियो, नतिजा त्यति नै सटिक हुने उनले दाबी गरिन्।
चट्याङको पूर्वानुमानका लागि स्याटेलाइट (उपग्रह) र मौसमी प्रणालीको गमनपथलाई आधार मानिने गरिन्छ भने बाढीको सटीक आँकलनका लागि नयाँ ‘फ्लड फोरकास्टिङ मोडल’ (बाढी पूर्वानुमान प्रारूप) प्रयोग भइरहेको छ।
मौसम पूर्वानुमानलाई विश्वसनीय बनाउन जल तथा मौसम विज्ञान विभागले आफ्नै तीन दिने मोडलहरू र संख्यात्मक मौसम भविष्यवाणी जस्ता प्रविधिहरू चलाइरहेको छ।
देशभर फैलिएको ‘हाइड्रो-मेटियोरोलोजिकल सञ्जाल’ (जल–मौसम सञ्जाल) मार्फत मौसमी तथ्यांकहरू संकलन गर्ने गरिएको छ।
उच्च हिमाली भूभागमा यो सञ्जाल केही पातलो भए पनि देशभरिका विभिन्न स्टेसनहरूबाट प्राप्त स्थलगत अवलोकन, डिजिटल मोडलहरू र पछिल्लो स्याटेलाइट तथ्यांकलाई मुख्य आधार मानेर दैनिक मौसम पूर्वानुमान गर्ने गरिएको वरिष्ठ मौसमविद् पोखरेलले जानकारी दिइन्।