बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँके तथा मातहत इकाईहरूबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको रु. २१ लाख ७९ हजार १८१ बराबरका विभिन्न सामान बरामद गरेको छ।
बरामद गरिएका सामानमा औषधि, लत्ताकपडा, पेय पदार्थ, किराना सामान, सुर्तिजन्य पदार्थ, हरियो तरकारी, काठ, एक थान मोटरसाइकल तथा एक थान ट्याक्टर रहेका छन्।
यसै क्रममा टोलीले ब्राउन सुगर ०.६४० मिलिग्राम, ट्रामाडोल २१० ट्याब्लेट, नाइट्रोभेट ४० ट्याब्लेट र स्पास पराक्स ६ ट्याब्लेटसहित लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला बाँकेको जानकी गाउँपालिका–५ गुरुवागाउँ निवासी ३० वर्षीय विष्णु यादव र जिल्ला दाङको तुल्सीपुर उपमहानगरपालिका–३ दमरगाउँ निवासी २६ वर्षीय शेरबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ।
बरामद अवैध सामानहरू आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय, बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, लागुऔषधसहित पक्राउ परेका दुवै व्यक्तिलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।