दाङ । द होप ट्रेनिङ सेन्टरले नेपाल सेनामा नाम निकाल्न सफल प्रशिक्षार्थीलाई सम्मान तथा विदाई गरेको छ । घोराही उपमहानगरपालिका–१४ मा रहेको द होप ट्रेनिङ सेन्टरले विहीवार कार्यक्रमको आयोजना गरि ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिएका १९ जनालाई सम्मान तथा विदाई गरेको हो । सेन्टरको १४ औ ब्याचअन्तर्गत प्रशिक्षण लिएका १९ जनाले नेपाली सेनामा नाम निकाल्न सफल भएका छन् । ट्रेनिङ सेन्टरका सञ्चालक गिररोदन महराको अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सफल प्रशिक्षार्थीलाई अविर टिका र मायाको चिनो प्रदान गरिएको ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रियासनले राष्ट्रको सेवाका लागि नेपाली सेनामा भर्ना हुन सफल युवाहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै सामाजिक सेवाको कार्यमा लाग्न आग्रह गर्नु भएको थियो । प्रियासनले देशलाई गौरब हुने गरी काम गर्न युवाहरुलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले गीत तथा नेतृत्व समेत प्रस्तुत गरेका थिए । सम्मान कार्यक्रमको सहजीकरण प्रवन्ध निर्देशक भ्युमान पुनले गर्नु भएको थियो ।