दाङ । लोकतन्त्रलाई सुदृढ बनाउनका लागि सञ्चार जगत पनि मजबुत हुनुपर्नेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्पष्ट पारेका छन् । पत्रकारिता र लोकतन्त्र एकअर्कोका परिपूरक पनि भएकाले यसको संरक्षण, प्रवर्द्धन र सुदृढीकरणमा लुम्बिनी प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताएका छन ।
सञ्चार माध्यमहरुमाथि अहिले सरकारले गरेको आर्थिक नाकाबन्दी हटाउन माग गर्दै नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश समितिले सोमबार अपरान्ह लुम्बिनी प्रदेश मन्त्रालयको प्रशासनिक केन्द्रको मूल प्रवेशद्वारमा धर्ना दिएको थियो । धर्नापछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटघाट पनि गरेको थियो । उपस्थित पत्रकारहरूले उठाएका माग जायज भएको हुनाले प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका छन् ।
मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्र कमजोर भएमा लोकतन्त्र नै कमजोर हुने र निरंकुशता हावी हुने खतरा बढ्ने सत्यता उल्लेख गर्दै सही र गलत विषयबारे आम जनतालाई सचेत गराउने तथा समाजको आँखा खोल्ने महत्वपूर्ण भूमिका सञ्चार क्षेत्रले निर्वाह गरिरहेको बताए ।
हालै संघीय सरकारले जारी गरेको विज्ञापन सम्बन्धी परिपत्रका कारण निजी सञ्चारमाध्यमहरू समस्यामा परेको चर्चा गर्दै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै दिने व्यवस्था शासकहरु निरंकुशतातर्फको यात्रा भएको बताए ।
भेटघाटका शिलशिलामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीलगायत राप्ती प्रेस मञ्चका टाेलिले पनि सञ्चार क्षेत्रले भोगिरहेका समस्या तथा आर्थिक संकटका विषयमा धारणा राखेका थिए ।
महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डवप्रसाद शर्माले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।