भारत,उत्तर प्रदेश: उत्तर प्रदेशको आग्रा जिल्लाको सिकन्दरा क्षेत्रमा अत्यन्तै हृदयविदारक हत्या प्रकरण सार्वजनिक भएको छ। करिब ४५ दिनदेखि बेपत्ता रहेका सुरेन्द्र शर्माको शव उनकै घरको बाथरूमको भुइँमुनिबाट प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न भएको आरोपमा उनकी श्रीमती रुबी शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार सुरेन्द्र शर्मा बेपत्ता भएपछि रुबी शर्माले श्रीमान हराएको भन्दै बेपत्ताको उजुरी समेत दर्ता गराएकी थिइन्। उनले लामो समयसम्म श्रीमान हराएको नाटक गर्दै प्रहरी अनुसन्धानलाई समेत भ्रममा पार्ने प्रयास गरेकी थिइन्।
तर, मृतकका परिवारले लगातार शंका व्यक्त गरेपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको थियो। सोधपुछका क्रममा रुबी शर्माका बयानहरूमा विरोधाभास देखिएपछि कडा अनुसन्धान गरिएको थियो। त्यसक्रममा उनले श्रीमानको हत्या गरी शवलाई घरको बाथरूमको भुइँमुनि गाडी माथिबाट सिमेन्ट र प्लास्टर लगाएर ढाकेको कथित रूपमा स्वीकार गरेकी प्रहरीले जनाएको छ।
त्यसपछि प्रहरीको उपस्थितिमा बाथरूमको भुइँ फुटाएर शव निकालिएको हो। शव पोस्टमार्टमका लागि पठाइएको छ भने हत्याको कारण, घटनामा अन्य कसैको संलग्नता रहेको वा नरहेको विषयमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।एजेन्सी