कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ।
पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको मुभमेन्ट देखिएको छ।
कावासोतीमा अहिले जिप सफारी, थारु संस्कृति अवलोकन र मध्यवर्ती सामुदायिक होमस्टेमा बसाइँको प्याकेजमा आन्तरिक पर्यटकको आकर्षण बढिरहेको छ।
निकुञ्ज स्रोतका अनुसार यस सिजन बाघको गणना र क्यामरा ट्र्यापिङ पनि चलिरहेकाले बाघको बसोबास क्षेत्र पहिचान गर्न सहज भएको छ। पर्यटकलाई बाघ देख्ने सम्भावना बढे पनि दूरी कायम राखेर र गाइडको निर्देशन पालना गर्न निकुञ्जले आग्रह गरेको छ।