१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

शान्ति सुरक्षा पहिलो प्राथमिकता ईप्रका गढवा नयाँ इन्चार्ज प्रहरी निरीक्षक साहिल बुढाथोकी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ३०, २०८३

दाङ । इलाका प्रहरी कार्यालय गढवाका नवआगन्तुक कार्यालय प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले गढवा-राजपुर क्षेत्रको शान्ति सुरक्षा,सीमाक्षेत्रको व्यवस्थापन तथा अपराध नियन्त्रणका लागि सञ्चारकर्मीहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार इलाका प्रहरी कार्यालय गढवाले देउखुरी क्षेत्रका पत्रकारहरूसँग आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक बुढाथोकीले सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण, लागूऔषध तथा अन्य आपराधिक गतिविधि न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।

हालै गढवाको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका बुढाथोकीले स्थानीय तह, सरोकारवाला निकाय तथा सञ्चारकर्मीबीचको समन्वयबाट मात्रै प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गरे । उनले पत्रकारहरूले समाजका विभिन्न गतिविधि र समस्यालाई उजागर गर्ने भएकाले सुरक्षा निकायलाई आवश्यक सूचना तथा सुझाव प्राप्त गर्न सञ्चार क्षेत्र महत्वपूर्ण साझेदार रहेको बताए । “गढवा-राजपुर क्षेत्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमाक्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने तथा नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने हाम्रो प्रमुख लक्ष्य हो,” उनले भने, “यसका लागि पत्रकार साथीहरूसँग निरन्तर सहकार्य र समन्वय गर्दै अघि बढ्नेछौं।”

त्यस्तै,उनले प्रहरी कार्यालयबाट प्रवाह हुने सूचना तथा गतिविधिहरूलाई छिटो, छरितो र विश्वसनीय रूपमा सञ्चार माध्यमसम्म पुर्‍याउने व्यवस्था मिलाइने जानकारी दिए । जनताको गुनासो तथा समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रहरी सेवाप्रति नागरिकको विश्वास बढाउने दिशामा आफू केन्द्रित रहने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले गढवा र राजपुर क्षेत्रको वर्तमान सुरक्षा अवस्था, सीमावर्ती क्षेत्रमा देखिएका चुनौती, अवैध गतिविधि नियन्त्रण तथा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले स्थानीयस्तरमा हुने विभिन्न सामाजिक तथा आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी र सञ्चारकर्मीबीच नियमित संवाद आवश्यक रहेको धारणा राखेका थिए ।

पत्रकारहरूले सीमाक्षेत्रमा हुने अवैध ओसारपसार, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, सवारी दुर्घटना न्यूनीकरण, लागूऔषध दुव्र्यसन तथा साइबर अपराधजस्ता विषयमा प्रहरीको सक्रियता अझ बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए । उनीहरूले जनचासोका विषयमा तथ्यपरक सूचना उपलब्ध गराउन र सूचना सम्प्रेषणलाई सहज बनाउन पनि आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]