सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा राष्ट्रसेवक कर्मचारीलगायत समुदायका व्यक्तिविरुद्ध अत्यन्तै अश्लील र अशिष्ट ढंगबाट बदनाम तथा चरित्रहत्या गर्ने मनसायले सामाजिक सञ्जालमा प्रमाणहीन, आधारहीन, तथ्यहीन, धम्कीपूर्ण तथा भ्रामक सामग्रीहरू पोस्ट गरी सामाजिक सद्भाव र शान्ति खलल पार्ने कार्य गरेको आरोप छ।
उनीविरुद्ध साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्न नहुनेसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट पक्राउ पुर्जी जारी भएको थियो।
पक्राउ पुर्जीका आधारमा खोजतलास गर्ने क्रममा महतो उदयपुरस्थित चतरा पुलपारि एक होटलमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा २०८३ असोज ४ गते पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका महतोमाथि थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
यसैबीच, प्रहरीले महतोले आफूले स्वचालित हतियार बोकेको र आफू पूर्वजन–तान्त्रिकको लडाकु रहेको भन्दै धम्की दिने गरेको तथा उक्त हतियारको फोटो पठाई केही व्यक्तिबाट आपराधिक लाभसमेत लिएको भन्ने सूचना प्राप्त भएको जनाएको छ। उक्त विषयमा कोही पीडित भएमा जिल्ला प्रहरी कार्यालय सिरहामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।