काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ।
फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको थियो।
विमानले सुरुमा ७७०० र त्यसपछि हाईज्याकको संकेत ७५०० स्क्वाक कोड पठाएपछि इजरायलले फाइटर जेट समेत परिचालन गरेको थियो। पछि यात्रु र जहाजमै रहेका दुई अफ-ड्युटी पाइलटले को-पाइलटलाई नियन्त्रणमा लिएर विमानलाई साउदीको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए।
विमानमा १७४ यात्रु थिए। दुवै पाइलट घाइते भएको र अस्पतालमा भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।एजेन्सी