काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ।
निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो।
आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा बढेर आएको छ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको निगमले जनाएको छ।
भोटेकोशीमा आएको बाढीपहिरोबाट सिर्जित विषम परिस्थिति तथा नजिकिँदै गरेका चाडपर्वलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले हालकै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो।
तर, मूल्य समायोजन नगर्दा निगममाथि ठूलो आर्थिक भार थपिने भएको छ । निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य यथावत राख्दा पाक्षिक रूपमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान छ।