१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

दाङको देउखुरी भद्राक्षी देवी मन्दिर पुग्ने सडक जीर्ण, स्थानीय र शिक्षक जोखिमपूर्ण यात्रामा,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, आश्विन १४, २०८३

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा पर्ने राप्ती गाउँपालिका–९ देविकोटमा रहेको धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिर पुग्ने सडकको अवस्था वर्षौंदेखि दयनीय रहँदा स्थानीयवासी, शिक्षक, कर्मचारी तथा मन्दिर दर्शन गर्न जाने श्रद्धालु भक्तजनले सास्ती खेप्दै आएका छन्।

देविकोटमा अवस्थित भद्राक्षी देवी मन्दिरमा सतीदेवीको बायाँ गोडा पतन भएको धार्मिक विश्वास रहँदै आएको छ। धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रमा दैनिकजसो भक्तजन तथा स्थानीयको आवतजावत हुने गरे पनि मन्दिरसम्म पुग्ने सडकको अवस्था भने अझै सुधार हुन सकेको छैन।

स्थानीयका अनुसार वर्षायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलाम्मे हुँदा पैदल तथा सवारीसाधनबाट यात्रा गर्न निकै कठिन हुने गरेको छ। सडकको दुरवस्थाका कारण बिरामीलाई समेत सहज रूपमा अस्पताल लैजान नसक्ने अवस्था रहेको उनीहरूको गुनासो छ।

सडकको सबैभन्दा बढी समस्या रुपाकोट माध्यमिक विद्यालय र देविकोटमा रहेको प्राथमिक विद्यालयमा दैनिक आवतजावत गर्ने शिक्षक तथा कर्मचारीले भोग्दै आएका छन्।

रुपाकोट माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक महावीर डाँगी सडकको अवस्थाका कारण दैनिक जोखिम मोलेर विद्यालय पुग्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ। उहाँका अनुसार श्रीनारायण चोक हुँदै करिब १३ किलोमिटरको दूरी पार गरेर विद्यालय पुग्नुपर्ने भए पनि सडकको अवस्था अत्यन्तै कठिन छ।

“हामी दैनिक यही उकालो बाटो हुँदै विद्यालय जाने–आउने गर्छौँ। कति सास्ती खेप्नुपरेको छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ, नभोग्नेलाई के थाहा ? दैनिक यात्रा गर्दा कुन ठाउँमा लडिन्छ भन्ने समेत थाहा हुँदैन। जोखिम मोलेरै भए पनि हामी पढाउन जान बाध्य छौँ,” डाँगीले भन्नुभयो।

विद्यालयकी शिक्षिका आरती डीसीका अनुसार पछिल्लो समय देविकोटमा आवतजावत गर्ने मानिसको संख्या बढ्दै गएको छ। तर सडकको अवस्था कमजोर हुँदा स्थानीयले सामान्य स्वास्थ्य उपचारका लागि समेत कठिनाइ भोग्नुपरेको उहाँको भनाइ छ।

“यहाँका स्थानीय बिरामी हुँदा बोकेर लैजानुपर्ने अवस्था छ। यात्रु लिन नियमित रूपमा कुनै पनि गाडी आउँदैन भन्नुपर्दा हामीलाई नै लाज लाग्छ। गाडी आओस् पनि कसरी ? सडकको अवस्था निकै गम्भीर छ,” डीसीले भन्नुभयो।

त्यस्तै, विद्यालयका शिक्षक गिरिजाप्रसाद सुवेदी प्रदेश राजधानी आफ्नै घरआँगन नजिक आएपछि स्थानीयमा विकासले गति लिने ठूलो अपेक्षा रहे पनि सडकको अवस्था नफेरिएको बताउनुहुन्छ।

“हाम्रो घरको आँगन नजिक प्रदेश राजधानी आयो भनेर निकै खुसी भएका थियौँ। अब होला, भोलि होला भन्ने आशा गर्‍यौँ। तर लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरू पटक–पटक परिवर्तन भए पनि हाम्रो अवस्था उस्तै छ,” सुवेदीले गुनासो गर्नुभयो।

उहाँका अनुसार मन्दिर दर्शन गर्न, विद्यालय तथा वडा कार्यालयको अनुगमन गर्न आउने जनप्रतिनिधि, मन्त्री, प्रशासनिक कर्मचारी तथा बुद्धिजीवीहरूले सडकको अवस्था देखेपछि तत्काल स्तरोन्नति गर्ने आश्वासन दिने गरे पनि सम्बन्धित निकायमा पुगेपछि ती प्रतिबद्धता बिर्सिने गरेको स्थानीयको गुनासो छ।

विद्यालयकै शिक्षक विष्णु भण्डारीले प्रदेश राजधानी रहेको क्षेत्र भए पनि स्थानीयले त्यसको प्रत्यक्ष अनुभूति गर्न नपाएको बताउनुभयो।

“स्थानीय तह र प्रदेश राजधानी हाम्रो नजिकै छ। घरघरमा राजधानी आयो भन्दै हामी खुसी भयौँ। तर हाम्रो अवस्था भने उस्तै रह्यो। यस ठाउँको विकास गर्ने मान्छे नै छैन कि के हो भन्ने निराशा लाग्न थालेको छ,” भण्डारीले भन्नुभयो।

केही महिनाअघि देविकोटमा आयोजित म्याराथुन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समेत सडक स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्थानीयको भनाइ छ। तर उक्त प्रतिबद्धता कार्यान्वयन भए–नभएको विषयमा आफूहरूलाई कुनै जानकारी नभएको शिक्षक तथा स्थानीय बताउँछन्।

त्यस्तै, शिक्षक बासुदेव थापाले सडककै कारण देविकोटमा सार्वजनिक तथा निजी सवारीसाधनको नियमित पहुँच हुन नसकेको बताउनुभयो। सडक स्तरोन्नति भए धार्मिक पर्यटकीय क्षेत्रका रूपमा भद्राक्षी देवी मन्दिरको विकाससँगै स्थानीयको दैनिक जीवनसमेत सहज बन्ने उहाँको भनाइ छ।

स्थानीयवासी, शिक्षक तथा बिद्यार्थीहरूले धार्मिक, पर्यटकीय र शैक्षिक दृष्टिले महत्वपूर्ण रहेको देविकोटसम्म पुग्ने सडकलाई तत्काल स्तरोन्नति गरी बाह्रै महिना सहज आवतजावत गर्न सकिने बनाउन प्रदेश तथा स्थानीय सरकारसँग माग गरेका छन्।

उनीहरूका अनुसार सडक निर्माण तथा स्तरोन्नति केवल मन्दिर दर्शन गर्न जाने भक्तजनको सुविधाका लागि मात्र नभई विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी, स्थानीय बासिन्दा र बिरामीको सहज आवागमनसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले सम्बन्धित निकायले आश्वासनमा मात्र सीमित नरही आवश्यक बजेट व्यवस्थापन गरी सडकको दीर्घकालीन समाधान खोज्नुपर्ने स्थानीयको माग छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–५ त्रिवेणी टोलमा स्थानीयवासीको सक्रियतामा सुरु भएको खेलमैदान निर्माण अभियानले ‘घोराही बनाऔँ अभियान’को साथ पाएपछि थप गति लिएको छ। बुट्यान, भिरालो जमिन तथा खाल्डाखुल्डी रहेको करिब २ बिघा १० कठ्ठा क्षेत्रफलको जग्गालाई सदुपयोग गर्दै स्थानीयवासीले भविष्यमा सुविधासम्पन्न खेलमैदान तथा स्टेडियम निर्माण गर्ने लक्ष्यसहित अभियान अघि बढाएका हुन्। नजिकै जनसेवा सामुदायिक वन रहेकाले […]

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा पर्ने राप्ती गाउँपालिका–९ देविकोटमा रहेको धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिर पुग्ने सडकको अवस्था वर्षौंदेखि दयनीय रहँदा स्थानीयवासी, शिक्षक, कर्मचारी तथा मन्दिर दर्शन गर्न जाने श्रद्धालु भक्तजनले सास्ती खेप्दै आएका छन्। देविकोटमा अवस्थित भद्राक्षी देवी मन्दिरमा सतीदेवीको बायाँ गोडा पतन भएको धार्मिक विश्वास रहँदै आएको […]

काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा रोकिएको छ। विभिन्न जिल्लाका प्रहरी इन्चार्जहरुको एक वर्ष अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन । गत वर्ष भदौको अन्तिममा विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा भएको थियो। उनीहरु सरुवाको पर्खाईमा छन्। तर, प्रहरी नेतृत्व र गृह मन्त्रालयबिच कुरा नमिल्दा सरुवा हुन सकेको छैन । स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले […]