रुपन्देही । सिद्धार्थनगर नगरपालिका-१ शान्तिगेटबाट बुधबार राति सशस्त्र प्रहरीको टोलीले एक किलोग्राम सुनका विभिन्न गरगहनासहित एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका-१९ की ४६ वर्षीया ईला पटेल रहेकी छन्।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपी कृष्ण भट्टराईको नेतृत्वमा सशस्त्र प्रहरीको टोली खटिएको थियो।
बरामद गरेका गरगहना सिद्धार्थनगर सुनचाँदी व्यवसायिले परीक्षण गर्दा एक किलोग्राम सुन कायम भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। बरामद सुनको मूल्य दुई करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ रहेको छ।
सुनसहित पटेललाई सशस्त्र प्रहरीले थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको छ।