कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप
कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद,
नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र सुरक्षाकर्मीको चेकजाँच प्रणालीमाथि प्रश्न उठेको छ।
खुनुवा कस्टम, एसएसबी र प्रहरीको संयुक्त टोलीले दुई ट्रकबाट १३ हजार ८४० किलो फर्सीको बीउ र १० हजार ८२० किलो बोक्रासहितको अखरोट बरामद गरेको हो। बरामद फर्सीको बीउको मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
प्राप्त जानकारीअनुसार उक्त ट्रकहरू नेपालतर्फ सुठौली नाका हुँदै प्रवेश गरी फ्लाई एश अनलोड गरेर भारततर्फ फर्किएका थिए। तर, सुठौली भन्सार तथा सुरक्षा जाँचमा पर्याप्त चेकजाँच नगरी ट्रकहरू भारततर्फ जान दिइएको विषय सार्वजनिक भएपछि सम्बन्धित निकायको कार्यशैलीमाथि प्रश्न उठेको छ।
खुनुवा नाकामा पुगेपछि गरिएको गहन जाँचका क्रममा ट्रकको माथिल्लो भागमा विशेष संरचना बनाएर सामान लुकाइएको अवस्थामा फेला परेको जनाइएको छ।
घटनापछि सुठौली भन्सार र नेपालतर्फको सुरक्षा संयन्त्रबाट भएको चेकजाँचबारे छानबिन आवश्यक देखिएको भन्दै स्थानीयस्तरमा समेत प्रश्न उठ्न थालेको छ। यद्यपि, सुठौली भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बलको तर्फबाट यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
घटनामा एक ट्रकका चालक र सहचालक नियन्त्रणमा छन् भने अर्को ट्रकका चालक र सहचालक फरार रहेको जनाइएको छ। बरामद सामान र ट्रकलाई आवश्यक कारबाहीका लागि खुनुवा कस्टम कार्यालयमा बुझाइएको छ।