घोराही उपमहानगरपालिका–१६ स्थित उत्प्रेरित टोलमा आइतबार बिहान सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। टोल विकास संस्थाको अगुवाइमा आयोजित सरसफाइ कार्यक्रममा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।
टोल विकास संस्थाका अध्यक्ष रेशम केसीको नेतृत्वमा सम्पन्न कार्यक्रममा टोलका विभिन्न स्थान, सडक, गल्ली तथा सार्वजनिक क्षेत्रको सरसफाइ गरिएको थियो। टोललाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो।
सरसफाइ कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रियासनले स्वच्छ र सुन्दर समाज निर्माणका लागि सरकारको मात्रै मुख ताकेर नहुने बताउनुभयो। समाज परिवर्तनका लागि प्रत्येक नागरिकले आफ्नो घर, आँगन र टोलबाटै सकारात्मक कामको सुरुवात गर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “हामीले आफ्नो घर सफा राख्ने तर घरबाहिरको बाटो, गल्ली र सार्वजनिक स्थान फोहोर राख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ। आफ्नो घर जस्तै टोल र गाउँलाई पनि सफा राख्नुपर्छ भन्ने भावना सबैमा विकास हुन आवश्यक छ। टोलवासी आफैँ जुटेर हरेक महिना सरसफाइ गर्नु प्रशंसनीय काम हो।”
प्रियासनले विकास भनेको सडक, भवन र भौतिक संरचना निर्माण मात्रै नभई नागरिकको सोच, व्यवहार र सामाजिक जिम्मेवारीमा आउने सकारात्मक परिवर्तन पनि भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार टोलवासीबीचको एकता, सहकार्य र सामूहिक सक्रियताले नै समृद्ध समाज निर्माणको आधार तयार गर्छ।
उहाँले घोराहीलाई सफा, सुन्दर र व्यवस्थित नगर बनाउने अभियानमा प्रत्येक टोल तथा बस्तीको महत्वपूर्ण भूमिका रहने बताउँदै यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो। उहाँले टोल विकास संस्थाहरू स्थानीय विकासका महत्वपूर्ण आधार भएकाले सरसफाइसँगै सामाजिक सचेतना, वातावरण संरक्षण र विकास निर्माणका काममा समेत सक्रिय हुनुपर्ने धारणा राख्नुभयो।
टोल विकास संस्थाका अध्यक्ष रेशम केसीले उत्प्रेरित टोललाई सफा, व्यवस्थित र नमुना टोलका रूपमा विकास गर्ने उद्देश्यले नियमित रूपमा सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले टोलको विकासका लागि अरूको मात्रै अपेक्षा गर्नु हुँदैन। आफ्नो ठाउँ आफैँले सफा र व्यवस्थित बनाउनुपर्छ भन्ने सोचका साथ हरेक महिना सामूहिक सरसफाइ गर्दै आएका छौँ। यस अभियानमा टोलवासीको साथ र सहयोगले हामीलाई थप उत्साहित बनाएको छ।”
उत्प्रेरित टोलले हरेक महिना नियमित रूपमा गाउँ तथा टोलका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थानीयवासीको सामूहिक सहभागितामा सञ्चालन हुँदै आएको यस अभियानले सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सहकार्यको भावना पनि बलियो बनाउँदै लगेको छ।
नियमित सरसफाइ, नागरिक सहभागिता र सामूहिक जिम्मेवारीलाई प्राथमिकता दिँदै उत्प्रेरित टोलले आफ्नो बस्तीलाई स्वच्छ, स्वस्थ र उदाहरणीय बनाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ।