बाँके । ट्राफिक प्रहरीकै पोसाकमा ड्युटीमा रहेका बेला सेवाग्राहीसँग अनुचित आर्थिक लाभ लिएको देखिने भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा परेका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेअन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीराम थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जमा कार्यरत प्रहरी जवान टोपबहादुर खड्कालाई निलम्बन गरेको हो।
कार्यालयका अनुसार दुवै प्रहरी कर्मचारी २०८३ मंसिर ८ गते ट्राफिक प्रहरीको पोसाकमा ड्युटीमा रहेका बेला सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडियो मंसिर १९ गते फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
उक्त घटनालाई गम्भीर रूपमा लिँदै कार्यालयले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम मंसिर १९ गतेदेखि लागू हुने गरी दुवै प्रहरी कर्मचारीलाई निलम्बन गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।