काठमाडौं । कुलेश्वर क्षेत्रमा ७-८ जनाको समूहले अनाहकमा पठाओ राइडर तथा यात्रुमाथि सामूहिक कुटपिट गरी फरार भएको घटनाले आम नागरिकको सुरक्षा र कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।
दिनदहाडै होस् वा रातको समयमा, आफ्नो काम गरेर जीविकोपार्जन गर्ने र यात्रा गरिरहेका सर्वसाधारणमाथि यसरी समूह बनाएर आक्रमण गर्नु अत्यन्त निन्दनीय र अक्षम्य कार्य भएको भन्दै विरोध जनाइएको छ।
यस्ता अराजक, उच्छृङ्खल तथा गुण्डागर्दीमा संलग्न समूहलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ। सम्माननीय गृहमन्त्री श्री सुदन गुरुङज्यू, नेपाल सरकार तथा गृह मन्त्रालयको पनि यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।
देशमा कानुन छ भने कानुनको पालना सबैले गर्नुपर्छ। कसैले पनि समूहको आडमा सर्वसाधारणमाथि आक्रमण गरेर उन्मुक्ति पाउनु हुँदैन। आज पठाओ राइडर र यात्रुमाथि भएको आक्रमण भोलि हामी जोकोहीमाथि हुन सक्ने भन्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।
*नागरिकको सुरक्षा राज्यको पहिलो दायित्व हो। गुण्डागर्दी होइन, कानुनी शासन चाहिन्छ !*