दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले जग्गा कारोबारलाई सहज, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको प्रयोग आवश्यक रहेको बताउनुभएको छ।
शनिबार दाङमा ‘जग्गा साथी दाङ’ अनलाइन प्लेटफर्म तथा सिस्टमको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि प्रियासनले प्रविधिको विकाससँगै हरेक क्षेत्रलाई डिजिटल प्रणालीमा जोड्नुपर्ने बताउनुभयो। उहाँले जग्गा खरिद तथा बिक्री गर्ने व्यक्ति, जग्गा व्यवसायी र रियल स्टेटसँग सम्बन्धित सबैलाई एउटै डिजिटल माध्यमबाट जोड्ने प्रयासले कारोबारलाई थप सहज बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो।
उहाँले परम्परागत रूपमा हुँदै आएको जग्गा कारोबारलाई प्रविधिसँग जोड्नु समयको आवश्यकता भएको उल्लेख गर्दै यस्ता नवीन सोच र सिर्जनात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। प्रविधिको सही प्रयोगले सेवाग्राहीको समय बचत गर्नुका साथै आवश्यक सूचना प्राप्त गर्न सहज हुने उहाँको भनाइ थियो।
दाङ जिल्लामा जग्गा कारोबारलाई व्यवस्थित, सहज र पारदर्शी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘जग्गा साथी दाङ’ सिस्टममार्फत जग्गा बिक्री गर्न चाहने व्यक्तिले आफ्नो जग्गाको विवरण अनलाइनमा राख्न सक्नेछन्। त्यस्तै, जग्गा खरिद गर्न इच्छुक व्यक्तिले पनि आफूलाई आवश्यक पर्ने जग्गासम्बन्धी विवरण तथा जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
यस प्लेटफर्मबाट जग्गा खरिद तथा बिक्री गर्न चाहने व्यक्ति, जग्गा व्यवसायी, रियल स्टेट फर्म तथा जग्गा कारोबारमा संलग्न अन्य पक्षले लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा रेशम गिरी (प्रिन्सिपल, राप्ती इन्जिनियरिङ कलेज), तिलक रावत (नेपाली कांग्रेस घोराही नगर सभापति एवं गोल्ड स्टार घोराही शोरुमका सञ्चालक), घोराही–१६ सर्रास्थित खानेपानी संस्थाका अध्यक्ष खिमबहादुर नाथलगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा जग्गा कारोबारसँग सम्बन्धित विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।
‘जग्गा साथी दाङ’ सिस्टमको विकास तथा सञ्चालनमा राप्ती इन्जिनियरिङ कलेजमा बीई कम्प्युटरको सातौँ सेमेस्टरमा अध्ययनरत नवीनको प्राविधिक योगदान रहेको आयोजकले जनाएको छ।
परम्परागत जग्गा कारोबारलाई एउटै डिजिटल माध्यमबाट जोड्दै जग्गा बिक्रीकर्ता र खरिदकर्ताबीच सूचना आदानप्रदान सहज बनाउने उद्देश्यले यो प्लेटफर्म सञ्चालनमा ल्याइएको हो।
यस सिस्टमले आगामी दिनमा दाङ जिल्लाको जग्गा कारोबारलाई प्रविधिमैत्री बनाउनुका साथै डिजिटल सेवाको विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।