दाङ । घोराही उपमहानगरपालिकाको समृद्धिको बलियो आधार बबै नदी अर्थात् सर्जु नदी बन्न सक्ने भन्दै घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन चौधरीले बबै नदीमा डुङ्गा सञ्चालनदेखि घोराहीलाई धार्मिक पर्यापर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।
धेरै अघिदेखि आफूले घोराहीको कुहिरेपानीमा आउने पर्यटक तथा आन्तरिक आगन्तुकहरूलाई डुङ्गामा चढाएर बबै नदी हुँदै धारपानी धामसम्म पुर्याउने अवधारणा अघि सार्दै आएको उहाँले बताउनुभयो। बबै नदीको प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र पर्यटकीय सम्भावनालाई एकीकृत गर्न सके घोराहीको आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान पुग्ने उहाँको भनाइ छ।
नेपाल प्रेस युनियनले धारपानी धाममा आयोजना गरेको कार्यक्रममा आफ्नो अवधारणालाई पुनः प्रस्तुत गर्दै प्रियासनले बबै नदीलाई पर्यटकीय गतिविधिको केन्द्र बनाउन सकिने बताउनुभयो। उहाँले कुहिरेपानीबाट डुङ्गा यात्रा सुरु गरी नदीको प्राकृतिक दृश्यावलोकन गराउँदै धारपानी धाम तथा बबै नदीको शिरसम्म पर्यटकलाई पुर्याउने व्यवस्था गर्न सके घोराहीमा दैनिक हजारौँ नयाँ पर्यटक भित्र्याउने सम्भावना रहेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार धारपानी धाम, बबै नदी, उत्तरबाहिनी क्षेत्रलगायतका धार्मिक तथा प्राकृतिक महत्त्व बोकेका स्थानलाई एउटै पर्यटकीय सर्किटमा जोड्न सकिन्छ। यसले घोराहीलाई धार्मिक पर्यटनसँगै पर्यापर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्नेछ।
‘हामीले घोराहीको समृद्धिका लागि नयाँ सम्भावनाहरू खोज्नुपर्छ। बबै नदी हाम्रो प्राकृतिक सम्पदा हो। यसलाई केवल नदीका रूपमा मात्र नहेरेर पर्यटन, रोजगारी र आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्नुपर्छ,’ उहाँले भन्नुभयो।
धारपानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले पनि बबै नदीमा डुङ्गा सञ्चालन गर्ने तथा धार्मिक पर्यापर्यटनको अवधारणालाई अघि बढाउने विषयमा सकारात्मक सहमति जनाउनुभएको प्रियासनले जानकारी दिनुभयो।
उहाँले यो योजना सफल बनाउन स्थानीय सरकार, धार्मिक संघसंस्था, पर्यटन व्यवसायी, स्थानीय समुदाय, नागरिक समाज र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
बबै नदीमा व्यवस्थित डुङ्गा सञ्चालन, आवश्यक पूर्वाधार निर्माण, पर्यटकीय सुरक्षा, धार्मिक स्थलहरूको संरक्षण तथा प्रचारप्रसारलाई एकीकृत योजनाका रूपमा अघि बढाउन सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै होटल, यातायात, कृषि तथा व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
घोराही बनाऔँ अभियानले घोराहीको विकासका लागि कृषि, पर्यटन, उद्यमशीलता, संस्कृति र पूर्वाधारलाई प्राथमिकतामा राख्दै विभिन्न सम्भावनाहरूको खोजी तथा बहस गर्दै आएको छ। बबै नदीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अवधारणा कार्यान्वयनमा आए घोराहीको समृद्धिका लागि नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ।
**सबिन प्रियासन चौधरी**
संयोजक, घोराही बनाऔँ अभियान