२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

सुर्यबिनायक सडकमा ६ लेन अनुशासन नियम बुधबारदेखि सुरु

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

(महेन्द्र सिंह) काठमाडौं महानगरीय ट्राफिक महाशाखाले अनुशासन नियम लागू गरेको छ। जसअनुसार ठूला एवं ढिलो गतिका सवारीसाधनले बायाँ लेन प्रयोग गर्नुपर्नेछ। हलुका एवं तीव्र गतिका सवारीसाधनले भने दायाँ लेन प्रयोग गर्नुपर्ने नियम रहेको छ।
देशकै पहिलो ६ लेन सडकमा लेन अनुशासन पालना नहुँदा सडक दुर्घटना बढेपछि महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त लेन अनुशासनलाई बुधबारदेखि लागू गरेको हो।
सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बुधबार एक कार्यक्रमबीच भक्तपुरको सूर्यविनायकमा उक्त लेन नियमको उद्घाटन गरे।
रिबन काटेर लेन अनुशासन नियमको उद्घाटनसँगै प्रमुख जिल्ला अधिकारी पाण्डे, वरिष्ठ प्रहरी उपरीक्षक ढकाललगायतले ६ लेन सडकमा गुड्ने ठूला तथा साना सवारीका चालकलाई लेन अनुशासनसम्बन्धी जानकारीमूलक पर्चा वितरण गरे।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेले भक्तपुर काठमाडौं ६ लेन सडकमा हुने दुर्घटनाले विकराल रुप लिएपछि त्यसलाई न्यूनीकरण गरेर उक्त सडकलाई नमुना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको बताइन्।
सडकमा लेन हुँदा पनि सवारीसाधनले आफूखुसी लेन परिवर्तन गर्दा सडक दुर्घटना भएको महाशाखा प्रमुख ढकाल बताउँछन्। चालकले जथाभावी सवारीसाधनको लेन परिवर्तन गर्दा बढी सडक दुर्घटना भएको उनको भनाइ थियो।
महिनामा दुई सय दुर्घटना
महाशाखाको तथ्यांकअनुसार भक्तपुर-काठमाडौं ६ लेन सडकमा मासिक दुईसयको हाराहारीमा सडक दुर्घटना हुन्छन्। भएका ती दुर्घटनामध्ये सबैभन्दा बढी जथाभावी लेन परिवर्तन गर्दा भएको देखिएको महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ढकाल बताउँछन्।
‘भक्तपुर-काठमाडौं ६ लेन सडकमा महिनामा दुई सयको हाराहारीमा सडक दुर्घटना भएको तथ्यांक रहेको छ’, उनले भने, ‘यी दुर्घटनामध्ये जथाभावी लेन प्रयोग गर्दा गाडीहरु एकापसमा ठक्कर खाएर भएका बढी छन्।’
त्यसैले सडक दुर्घटना न्यूनीकरण गर्ने तथा चालकहरुलाई सडकमा रहेको लेनको सही सदुपयोग गराउने बानी विकास गर्न सडक लेन पालना गर्ने नियम लागू गरिएको उनले स्पष्ट पारे।
एक मिनेटमा गुड्छन् ७४ सवारीसाधन
पछिल्लो समय भक्तपुर-काठमाडौं ६ लेन सडकमा सवारीसाधनको चाप बढेको छ। धुलिखेल-सिन्धुली-बर्­दिबास सडक खुलेपछि यस सडकमा सवारीसाधनको चाप बढेको हो। पूर्वी नेपाल जाने हलुवा तथा साना गाडी यहीं सडक भएर गुड्छन् तथा यहीं सडक भएर राजधानी छिर्छन्। छिमेकी चीनसँगको व्यापारिक नाका तातोपानी खुलेपछि यो सडकमा अझै सवारीसाधनको चाप बढ्ने निश्चित छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अध्ययनअनुसार यो सडकमा एक मिनेटका ७४ वटा सवारीसाधन गुड्छन्। जसमा २३ वटा चार पांग्रे र ५१ वटा मोटरसाइकल तथा स्कुटरजस्ता दुई पांग्रे सवारीसाधन गुड्ने महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ढकाल बताउँछन्। त्यसैले पनि यस सडकलाई व्यवस्थित गराउन लेन नियम लागू गर्नुपर्ने तड्कारो रहेको उनले स्पष्ट पारे।
हाललाई उक्त नियम भक्तपुरको सूर्यविनायकदेखि जडिबुटीसम्मको करिब सात किलोमिटर सडकमा लागू हुने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए। उक्त नियम नमान्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले एक हजार पाँचसय सम्म र सोभन्दा बढी यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुने उनले बताए।
प्रहरी उपरीक्षक प्रधानले लेन अनुशासन नियम पालनाले सडक दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरे।
सडक र यातायात कार्यालयका प्रतिनिधि अनुपस्थित
लेन अनुशासन पालना कार्यक्रममा सडकसँग प्रत्यक्ष सरोकार राख्ने सडक तथा यातायात व्यवस्था कार्यालयका प्रतिनिधि भने उपस्थित भएनन्। भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक प्रधानले सडक र यातायात कार्यालयका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिँदासमेत उपस्थित नभएको गुनासो गरे।
‘सडक र यातायात कार्यालय सडकसँग प्रत्यक्ष सरोकार राख्ने जिम्मेवार निकाय हुन्’, उनले भने, ‘तर यी कार्यालयका प्रतिनिधि नै कार्यक्रममा उपस्थित हुनुभएन।’
उनले सडक सुरक्षा र त्यसको प्रयोगमा यी निकाय जिम्मेवार नभए स्थानीय तह जिम्मेवार हुनुपर्ने धारणा राखे। तर उक्त सडक कार्यक्षेत्रभित्र पर्ने भक्तपुर र मध्यपुर थिमि नपाका प्रतिनिधि पनि कार्यक्रममा उपस्थित भएनन्। सूर्यविनायक नपाबाट भने वडा अध्यक्ष किरण थापा सहभागी भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]