०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सरकारले अत्यावश्यक कामबाहेक काठमाडौं उपत्यका आवागमन प्रवेश निषेध

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

एबिसी संचार
काठमाडौँ सरकारले काठमाडौँ उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक उपत्यका आवागमन पूर्ण सिल गर्ने निर्णय गरेको हो । मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा परिपत्र गरेको छ ।
उक्त निर्णयको बुँदा नं २ मा उपत्यका प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजनका लागिबाहेक पूर्णरुपमा सिल गर्ने र लुकीछिपी आउने क्रमलाई रोक्ने उल्लेख छ । बुधबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नगर तथा महानगरपालिकाका प्रमुखलगायत सुरक्षा अधिकारीबीच बैठक बसी कोभिड–१९ को सङ्क्रमण र रोकथामको अवस्थाबारे समीक्षा भएको थियो । बैठकमा उपत्यकाको नाका जोडिएका नगरपालिका प्रमुखको समेत सहभागिता थियो ।
बैठकले बन्दाबन्दी (लकडाउन) प्रभावकारी भए पनि विभिन्न बहाना बनाएर आवागमन हुने गरेकाले पूर्णरुपमा पालना हुन नसकेको निष्कर्ष निकालेको जनाइएको छ । तसर्थ लकडाउनलाई अझै कडाइ गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ । यसअघि गरेको निर्णय कार्यान्वयन गर्दै उपत्यकामा हुने आवागमनमा थप कडाइ गर्ने र अत्यावश्यकबाहेकको आवतजावतलाई पूर्ण रोक्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्त केदारनाथ शर्माले जानकारी दिए । अब भने उपत्यकाको स्थानीय तह, प्रहरी र प्रशासनको समन्वयमा थप कडाइ गरिनेछ ।
उनका अनुसार एउटै गाडीमा कामै नपरेका मानिससमेत आउने तथा लुकीलुकीसमेत प्रवेश गर्ने अवस्था भएकाले त्यसलाई रोक्न उक्त निर्णय गरी परिपत्र जारी गरिएको हो । उपत्यकामा मानिसको प्रवेश हुँदा जनघनत्व बढ्ने भएकाले आवश्यक सुरक्षा व्यवस्था कडा पार्न प्रहरीलाई समेत निर्देशन दिएको छ । मानिस आएमा स्रोत स्थानमै रोक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन प्राप्त भएकाले सोहीअनुसार प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
नाका प्रवेश रोक्न स्थानीय तहलाई प्रशासनसँग समन्वय गरी आ–आफ्नै क्षेत्रमा रहेको होटल, पार्टी प्यालेस, सामुदायिक भवनमा क्वारेन्टाइन बनाउन भनिएको छ । स्थानीय तहमार्फत आगन्तुकको लगत सङ्कलन र अन्य व्यवस्थापन गर्ने निणय पनि बैठकले गरेको छ । उक्त क्वारेन्टाइन खर्च भने बस्ने व्यक्ति स्वयंले भुक्तानी गर्नुपर्ने छ ।
आवश्यक कामका लागि प्रवेश गर्न चाहने व्यक्तिले प्रवेश गर्नुपूर्व आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षण गरी सो को रिपोर्ट साथ उपत्यका प्रवेशका लागि अनुमति माग्नु पर्नेछ । उपत्यका आउने सवारीलाई प्रवेश विन्दुमा पुग्नुअगावै प्रस्थान विन्दुमा नै रोक्ने र यसका लागि सुरक्षा निकायलाई विशेष निगरानी गरी आवागमनमा कडाइ गर्न भनिएको छ । काठमाडौँ उपत्यकामा समेत कोभिड–१९ को सङ्क्रमण देखिँदै आएको छ । अहिले विभिन्न क्षेत्र सिल गरेर आवश्यक काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले गृहमन्त्रालयबाट आएको परिपत्रअनुसार उपत्यकाको सुरक्षा व्यवस्था र लकडाउन कार्यान्वयनमा स्थानीय प्रशासन थप सक्रिय भएर लागिसकेको बताए ।
लुकीछिपी प्रवेश गर्नेको लगत लिइने
काठमाडौँ उपत्यकाका स्थानीय तहले प्रशासनको समन्वयमा लुकीछिपी प्रवेश गर्नेको खोजी गरी लगत सङ्कलन गर्ने भएको छ । त्यस विषयमा आवश्यक कारवाही अघि बढाउने कुरा पनि गृहको परिपत्रमा उल्लेख छ । स्थानीय संस्था तथा क्लबले राहत वितरण र खाना वितरण गर्दा भीडभाड बढ्न गई जोखिम बढाएकाले उक्त कार्य स्थानीय तहको समन्वय नभएमा रोक्न पनि भनिएको छ । त्यस्तो कार्य समन्वय गरेर स्वास्थ्यसम्बन्धी मापदण्डका आधारमा मात्रै वितरण गर्न मन्त्रालयले आग्रह गरेको छ ।
स्थानीय तहसँगको समन्वयमा सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको जाँच र निगरानीमा थप कडाइ गर्ने पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणबाट मुलुकमा ४४४ व्यक्ति सङ्क्रमित भएका छन् । दुई जनाको मृत्यु भएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!