१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

चीन सरकारले ८०० मिटर अग्लो भीरमा बस्ने गाउँलेलाई नयाँ ठाउँमा लग्यो

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

चिनको एक ठाँउको गाउँलेहरु ८०० मिटर अग्लो भीरलाई आफ्नो गाउँ बताउँथे तर अब सिचुआन प्रान्तका दर्जनौँलाई अहिले एउटा शहरी आवास क्षेत्रमा स्थानान्तरण गरिएको छ। आथुलारचन गाउँ त्यहाँका वयस्क र बालबालिकाले कमजोर खालका भर्याङ प्रयोग गरि मानिसहरू भीर चढिरहेको तस्बिर सार्वजनिक भएपछि चर्चित भएको थियो। सरकारको गरिबी निवारण कार्यक्रम अन्तर्गत झण्डै ८४ घरधुरी नयाँ बनाइएका आवासहरूमा सरिसकेका छन्। यो सन् २०२० को अन्त्यसम्म गरिबी समाप्त पार्ने चीन सरकारको वृहत् अभियानको अंश हो। ‘घर पाएकोमा हर्षित छु’ उक्त गाउँका मानिसहरू आफ्ना बच्चा बोकेर र आवश्यक सरसामग्री लिएर डरलाग्दा सिँढी चढेर घर जानुपर्ने खबरहरू सन् २०१६ मा प्रकाशमा आएको थियो। त्यसपछि चिनियाँ सरकारले हस्तक्षेप गर्दै त्यहाँ भीर पार गर्नकालागि स्टीलको सिँढी बनाउने निर्णय गरेको थियो। अहिले त्यहाँका बासिन्दालाई ७० किलोमिटर पर चाउचे नगरमा सारिएको छ। उनीहरूलाई त्यहाँ पहिले नै बनाएर राखिएका अग्ला ‘अपार्टमेन्ट ब्लक’ हरूमा राखिनेछ र परिवार सदस्यको सङ्ख्या अनुसार ५० देखि १०० वर्ग मिटर आकारका ब्लक उपलब्ध गराइनेछ। आथुलारचन गाउँमा बसेका त्यहाँका अल्पसङ्ख्यक समुदायका लागि यो ठूलो परिवर्तन हो। चिनियाँ सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्वीरमा गाउँलेहरू प्रसन्न देखिन्छन्। एक जनाले एक सरकारी सञ्चारमाध्यम, सीजीटीएनलाई भनेका छन्, “आज राम्रो घर पाएकोमा म एकदमै खुसी छु।” ठूलो आर्थिक भार युनिभर्सिटि अफ मेलबर्नका मानव भूगोल विषयका प्राध्यापक मार्क वाङका अनुसार यस्ता आवास कार्यक्रम लगभग ७० प्रतिशत जति सरकारी अनुदानमा चलाइने गरिन्छन्। तर कहिलेकाँही ठूलो छुट पाएको भएपनि घरकालागि बाँकी रकम तिर्न परिवारहरूले सक्दैनन्। उनी भन्छन्, “केही एकदमै गरिब गाउँलेहरूका लागि उक्त ३० प्रतिशत पनि तिर्न गाह्रो रकम हो त्यही भएर उनीहरूले ऋण लिनुपर्ने अवस्था आउँछ जसले गर्दा उनीहरू थप ऋणमा डुब्छन्।” सबैभन्दा गरिबहरूका लागि स्थानान्तरण आर्थिक भार भएकाले केही अवस्थामा मानिसहरू पुरानै ठाउँमा बस्ने गरेको उनी बताउँछन्। चिनियाँ सरकारी सञ्चार माध्यम चाइना डेलीका अनुसार प्रत्येक व्यक्तिले यसरी स्थानान्तरण हुनका लागि २५ सय युआन अर्थात झण्डै ४३ हजार नेपाली रूपियाँ खर्च गर्नु पर्छ। चार जना सदस्य भएको परिवारले तिर्नुपर्ने रकम १ लाख ७० हजार भन्दा बढी हुन आउँछ। वाङले आफूले अरू स्थानान्तरण परियोजनामा मानिसहरूले ४० हजार डलरसम्म तिरेको जानकारी पाएको भन्दै अहिलेको शुल्क धेरै नभएको बताए। वृहत् चिनियाँ लक्ष्य आथुलारचनका बासिन्दासँगै सिचुआन प्रान्तका गरिबीको रेखामा रहेका परिवारहरू पनि उक्त अपार्टमेन्ट परिसरमा सर्नेछन्। तर झण्डै ३० धरधुरीचाँही पर्यटक केन्द्रका रूपमा विकास गर्न लागिएको उक्त गाउँमा नै बस्नेछन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ती घरधुरीले स्थानीय पर्यटनको जिम्मेवारी लिनेछन् र होटल सञ्चालन जस्ता गतिविधि चलाउँनेछन्। त्यहाँको स्थानीय सरकारले महत्वकाङ्क्षी योजना ल्याएको छ जसमा पर्यटकहरूलाई उक्त गाउँसम्म पुर्याउन केबलकार स्थापना गर्ने र आसपासका क्षेत्रको विकास गर्ने भनिएको छ। बिदा मनाउने मानिसहरूलाई लक्षित गर्दै त्यहाँ रिसोर्ट खोलिने र राज्यले १० अर्ब भन्दा बढी लगानी गर्ने विवरणहरू आएका छन्। यी विकासले उक्त क्षेत्रमा थप रोजगारी उपलब्ध गराउनसक्ने भएपनि त्यहाँका पर्यावरणीय क्षेत्रहरू सुरक्षित गर्न र चाहिने भन्दा बढ्ता विकास हुन नदिन अपनाइएका सावधानीबारे प्रष्ट पारिएको छैन। चिनियाँ राष्ट्रपति सी जिनपिङ्ले उनको देशले सन् २०२० मा गरिबी उन्मूलन गर्ने घोषणा गरेका छन्। चीनमा देशभर गरिबीको एउटै परिभाषा छैन र प्रान्त अनुसार अलग अलग मापदण्ड छन्। देशव्यापी उदृत गरिने एउटा मापदण्डमा वर्षेनी कुल आय २३ सय युआन अर्थात करिब ४० हजार रूपियाँ रहनुपर्ने भनिएको छ। त्यसलाई स्वीकार गर्दा, सन् २०१७ मा चीनमा झण्डै ३ करोड मानिसहरू गरिबीको रेखामुनि थिए। तर सन् २०२० को समयसीमा चाँडै आइरहेको छ र प्राध्यापक वाङका अनुसार कोरोनाभाइरसको महामारीका कारण त्यो पछि धकेलिनसक्छ। “कोभिड-१९ नै नभएको भएपनि त्यो समयसीमा भेट्टाउन अप्ठेरो नै हुने थियो र अहिले यथार्यपरक भएर हेर्दा त्यसले अझ जटिलता थपिदिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]