
(विपुल पोख्रेल)
कोभिड १९ को महामारीले सिंगो संसार प्रभावित भएको समयमा पत्रकारिता क्षेत्र पनि अपवाद हुने कुरै भएन । नेपाली पत्रकारितासँगै विश्व पत्रकारिताका लागि पनि यो महामारी एउटा चुनौती भएर उभिएको छ भने यसले केही सिकाइ छाडेर अनि केही प्रवृत्तिलाई तलमाथि पारेरमात्र हामीबाट बिदा हुनेछ । यस चुनौतीको बेलैमा सामना गर्न नसक्ने र उपयुक्त रणनीतिका साथ सम्बोधन गर्ने सामथ्र्य नराख्नेहरु पत्रकारिताको परिधिभन्दा बाहिर थकेलिने छन् र नयाँ पुस्ता अनि नयाँ व्यवस्थापनले यो महासंकटको ओरालो लाग्ने क्रमसँगै पत्रकारितामा आफ्नो ‘स्पेस’ बनाउन आरम्भ गर्नेछन् ।
दुईवटा विश्व युद्धपछिको सिकाइ, तेस्रो मुलुकका पत्रकारिताका विज्ञ र क्रियाशील पत्रकारहरुको सम्मेलन अनि त्यो सम्मेलनको निष्कर्ष, संयुक्त राष्ट्र संघ स्थापनापछिको पत्रकारिताजस्ता विश्व परिघटनासँगै पत्रकारिताका आयाम र प्रवृत्तिमा फेरबदल भए । तेस्रो मुलकका समाचार पनि शक्तिशाली मुलुकका सञ्चारमाध्यमका लागि सामग्री बन्न थाले । राष्ट्रिय, स्थानीय, क्षेत्रीय, महाद्विपस्तरीय अन्य कतिपय चुनौती र घटनाक्रमले त्यस सेरोफेरोको पत्रकारिताका आयाम र प्रवृत्तिमा पनि फेरबदल भएका प्रशस्त उदाहरण पाइन्छ । नेपालकै सन्दर्भ कोट्याउँदा २०१७ अघिको पत्रकारिता, पञ्चायतकालीन पत्रकारिता, बहुदलीय शासन कालको पत्रकारिता, निरंकुश कालको पत्रकारिता र गणतन्त्रकालीन पत्रकारिताका पनि कतिपय प्रवृत्ति त फेरिएका छन् नै यसको अभ्यासमा सहज असहज सबै अवस्था नेपाली पत्रकारिताले भोगेको छ । यी भोगाइ नेपाली पत्रकारिताका पुँजी हुन् ।